२५ श्रावण २०८३, सोमबार

नेपालमा विदेशीको लगानी १ खर्ब ८५ अर्ब, चीनभन्दा भारतबाट दोब्बर बढी लगानी



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी १ खर्ब ८५ अर्ब ३२ करोड रुपैयाँ पुगेको बताएको छ । यो दुई वर्षअघिको तथ्यांक हो । आज विहीबार राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानीबारे एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो आँकडा प्रस्तुत गरेको हो ।

उक्त तथ्यांक अनुसार नेपालमा विदेशी लगानीबाट सञ्चालित कुल ५८७ फर्म तथा कम्पनी छन् । त्यसमध्ये जम्मा ४७ ओटा ठूला कम्पनी र २९ वटा मध्येम स्तरका छन् । बाँकी ५११ फर्म तथा कम्पनी साना व्यवसायको रुपमा छन् ।

लगानीका हिसाबले भने ठूला ४७ फर्म तथा कम्पनीमा १ खर्ब ७१ अर्ब पूँजी लगानी भएको छ । मध्येमस्तरका फर्म तथा कम्पनीमा ८ अर्ब ७८ करोड र साना व्यवसायमा ५ अर्ब ५३ करोड रुपैयाँ लगानी भएको छ ।

हाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ । कुल एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा मात्रै २७.५ प्रतिशत र बैंक तथा वित्तीय संस्था एवम् बीमा कम्पनीमा २७.३ प्रतिशत लगानी भएको तथ्यांकमा उल्लेख छ ।

२०७७ असार मसान्तसम्म नेपालमा संसारभरका ५२ मुलुकबाट प्रत्यक्ष विदेशी लगानी भित्रिएको थियो । यसमध्ये भारतबाट सबैभन्दा बढी ६२ अर्ब ४५ करोड र चीनबाट ३० अर्ब ९७ करोड लगानी भित्रिएको छ ।

यसमा अनौठो चाहीँ मूलतः अफ्रिकन मूलका करीब ५५ हजारजति आवादी भएको संसारकै सानोमध्येको एक देश सेण्ट किष्टस एण्ड नेभिस नेपालमा वैदेशिक लगानी भित्र्याउने तेस्रो ठूलो मुलुक हो । वेष्टइण्डिजको यो टापु राष्ट्र पश्चिमी गोलार्धकै सानो स्वतन्त्र मुलुक हो । यो देशले बेलायति महारानी एलिजावेथ द्वीतीयलाई नै राष्ट्रप्रमुख मान्दै आएको छ ।

नेपाल भित्रिएको एफडीआईका आधारमा चौंथो बरियताको राष्ट्र चाहीँ बेलायतकै छिमेकी मुलुक आयरल्याण्ड हो । त्यहाँबाट हालसम्म १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड एफडीआई भित्रिएको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका र बंगलादेश नेपालबा बढी लगानी गर्ने १० मुलुकको सूचीमा पर्छन् ।

प्रदेशगत हिसाबले हेर्ने हो भने कुल विदेशी लगानीको ६०.५ प्रतिशत वागमती प्रदेशमामात्रै लगानी भएको छ । त्यसपछि गण्डकीमा १५.३ प्रतिशत र प्रदेश नम्बर १ मा १२.९ प्रतिशत लगानी भएको छ । सुदुरपश्चिम र कर्णालीमा एफडीआई शुन्यप्रायः छ भने लुम्बिनीमा पनि १ प्रतिशतहाराहारीमात्रै छ ।