२५ श्रावण २०८३, सोमबार

नेपाली रुपैयाँका लागि वसन्त ऋतु ‘अभिषाप!’, कोभीडपछि नेपाली मुद्रा साढे ७ प्रतिशत अवमूल्यन्



काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएयता नेपाली मुद्रा (रुपैयाँ) साढे ७ प्रतिशतभन्दा धेरै अन्तरले अवमूल्यन् भएको छ । यो अन्तर पछिल्लो एक वर्षमा आर्थिक संकट भोग्दै गरेको छिमेकी मुलुक श्रीलंकाको झण्डै बराबर हो ।

सन् २०१९ को जनवरी १ लाई आधार मानेर आज आइतबारको भाऊसँग तुलना गर्दा यति ठूलो स्तरमा मुद्रा अवमूल्यन् भएको देखिएको छ । आइतबारको मूल्यमा हेर्ने हो भने पछिल्लो ३३ महिनामा नेपाली मुद्रा ७.५९ प्रतिशत सस्तिएको छ । नेपाल राष्ट्र बैंकले ‘परिवत्र्य विदेशी मुद्रा’ भनेर परिभाषित गरेका २० वटा मुद्राको आधारमा नेपाली रुपैयाँको अवमूल्यन् हिसाब गरिएको हो ।

कोरोनाकालमा नेपालीका लागि बेलायति मुद्रा पाउण्ड स्टर्लिङ अचाक्ली महँगो भयो । कोरोना आउनुअघि युरोपेली संघबाट अलग्गिएर सस्तिएको पाउण्ड पछिल्लो समय लगातार बलियो हुँदै आएको छ । १ जनवरी २०१९ को तथ्यांकलाई आधार मान्दा अहिलेसम्म पाउण्ड करीब साढे १४ प्रतिशत महँगिएको छ । तर यसबीचको सबैभन्दा महँगो मूल्यसँग तुलना गर्दा पाउण्ड भन्दा पनिप क्यानेडियन डलर र अस्ट्रेलियन डलर सर्वाधिक महँगिएका छन् ।

अहिले १६३ रुपैयाँ रहेको पाउण्डको भाउ गएको २१ अप्रिलमा १६८ रुपैयाँ हाराहारी पुगेको थियो । कोभीड अघि ८२ रुपैयाँ पर्ने १ क्यानेडियन डलरको भाउ ९७.५० रुपैयाँसम्म पुग्यो । अहिले ९३.५ं रुपैयाँमा कारोबार भइरहेको छ । यो दोस्रो बढी महँगिएको मुद्रा हो । त्यसपछि स्वीट्जरल्याण्डको मुद्रा स्वीस फ्र्यांक सर्वाधिक महँगिनेमा तेस्रो स्थानमा पर्छ । यो मुद्रा कोभीडपछि १३ प्रतिशत (१५ रुपैयाँ) महँगिएको छ ।

उत्तरी छिमेकी चीनको मुद्रा पनि यसबीचमा साढे १२ प्रतिशतभन्दा बढी महँगियो । १ युआनको सटही दर १६ रुपैयाँ हाराहारी रहेकोमा पछि लगातार बढेर साढे १८ रुपैयाँभन्दा पनि बढी भयो । अस्ट्रेलियन डलर पनि १० प्रतिशतभन्दा बढी नै महँगिने मुद्रामा पर्छ । कोभीडअघि ७९ रुपैयाँ रहेको यो मुद्राको सटही दर ९३ रुपैयाँ ४३ पैसा पुगेर घट्न थालेको छ । अहिले यो मुद्राको सटही दर ८७ रुपैयाँ १९ पैसा छ ।

नेपालले ७५ प्रतिशत हाराहारीमा विदेशी मुद्रा सञ्चित गर्ने अमेरिकी डलर भने त्यति धेरै महँगिएको छैन । तर यो मुद्रा पनि कीर्तिमानी रुपमा महँगिएको बेला १०.१३ प्रतिशतसम्म अधिमूल्यन् भएको छ । अर्को महत्वपूर्ण मुद्रा युरो पनि उसरी नै महँगिएको छ । कोभीडअघि १ युरोको भाउ १२८ रुपैयाँ थियो । त्यो पछि बढेर १४५ रुपैयाँ ५९ पैसासम्म पुग्यो । अहिले १४० रुपैयाँभन्दा सस्तोमा कारोबार भइरहेको छ ।

भारतीय रुपये (भारु)सँग स्थिर विनिमय दर कायम गरेका कारण पनि विदेशी मुद्रा यसरी सस्तिएका हुन् । अधिकांश मुद्रासँगको विनिमय दर गत वैशाखमा उच्चतम विन्दुमका पुगेको थियो । पाउण्ड, क्यानेडियन डलर, अस्ट्रेलियन डलर, चिनिया युआनजस्ता मुद्रा गत वैशाखमा कीर्तिमानी उचाइमा पुगे । डेनिश क्रोनर, युरो, सिंगापुर डलर, कुवेती दिनार र मलेसियन रिंगिटले त गएको १३ वैशाखमा एकै दिन ऐतिहासिक उचाइ चुमेका थिए ।

यो तथ्यांकले वसन्त ऋतुमा नेपाली मुद्रा सर्वाधिक सस्तिएको देखाउँछ । किन की, अघिल्लो वर्ष पनि २०७७ वैशाख ५ गते अरु ५ वटा मुद्राले एकसाथ उच्चतम मूल्यको कीर्तिमानी उचाइ पार गरेका थिए । त्यस दिन अमेरिकी डलर, हङकङ डलर, बहराइन दिनार, युएई दिह्राम र कतारी रियालले उच्च मूल्यको कीर्तिमानी पाएका थिए ।