सोमबार शेयर बजार स्थिर, यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सोमबार शेयर बजार स्थिर, यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो



काठमाडौं । सोमबार शेयर बजार स्थिर रहेको छ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार यस साताको आइतबारदेखि भने उकालो लाग्दै आएको छ । आइतबार भारि अंकले बढेको नेप्से सोमबार स्थिर रहेको छ । शेयर बजारसम्वन्धि विभिन्न गतिविधिले गर्दा लगानीकर्ता अन्यौलमा परेका छन् । शुरुमा नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गरेपछि बजारमा नकारात्मक प्रभाव परेको छ । तर यस साता भने बजार हरियाली नै रहने संकेत गरेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार नेप्से परिसूचक ७१ अंकले बढेको थियो । तर सोमबार भने नेप्से स्थिर रहेको हो ।

सोमबार दिनभरिमा २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर ९३ हजार २१८ पटक किनबेच हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ६ वटा समूह राताम्य छन् भने ७ वटा समूहमा हरियाली छाएको छ ।

सोमबार अजोड इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । तर सोमबार कालिका पावर कम्पनीको शेयर मूल्य ६.४७ प्रतिशतले सर्वाधिक घटेको छ ।


प्रतिक्रिया दिनुहोस्