सरकारको बजेटले छड उद्योगी विभाजित, ठूला ६ उद्योगीकाे समर्थन, बाँकीकाे २४ विरोध
काठमाडौँ । सरकारले नेपालमा फलामे छड (डण्डी) उत्पादन गर्दै आएका ठूला ६ वटा कम्पनीको कुरा सुनेर धेरै उद्योगलाई समस्यामा पारेको आरोप व्यवसायिले लगाएका छन् । सरकारले बजेटको प्रतिस्थापन विधेयक मार्फत कच्चा फलामको आयातमा लाग्दै आएको भन्सार र अन्तःशुल्कजस्ता राजश्व हटाइदिएपछि बहुसंख्यक छड उत्पादकले यसको विरोध गरेका हुन् ।
ठुला व्यापारिक घरानाको जोडबलमा सरकारले सिधै कच्चा पदार्थ आयात गरेर छड बनाउने उद्योगलाई सहुलियत दिएपछि यस्तो विरोध भएको हो । अहिले नेपालमा सञ्चालनमा रहेका ३० मध्ये ६ वटा कम्पनीले मात्रै स्पञ्ज (कच्चा फलाम) प्रशोधन गरेर डण्डी उत्पादन गर्दै आएका छन् । बाँकी २४ उद्योगले अधिकतर भारतबाट फलामका बिलेट भनिने ठूला खम्बाहरु ल्याएर त्यसैलाई आंशिक प्रशोधनबाट डण्डी बनाउँछन् ।
विजुलीका खम्बाजस्तो आकारमा तयार पारिएको फलामलाई बिलेट भनिन्छ । यस्तो फलाम आफैंमा प्रशोधित हो । तर यसलाई आफूले चाहेजस्तो आकारमा ढाल्न नेपाली उद्योगहरुले काम गर्छन् । फलामका ठूला खम्बा पगालेर साना रडदेखि पाइप, पिलर, ट्रसका सामाग्रीहरु उत्पादन गर्छन् । धेरैजसो नेपालमा आयात हुने बिलेटबाट छड (डण्डी) नै उत्पादन हुन्छ ।
नेपालमा सञ्चालित ३० मध्ये २४ उद्योगले अहिले पनि डण्डी उत्पादन गर्नका लागि यस्ता बिलेट भारत, बंगलादेशजस्ता मुलुकबाट आयात गर्छन् । तर अहिले बिलेट बनाउने कच्चा फलामको भन्सार महशुल हटाएको सरकारले तयारी बिलेटको आयातमा भने २.५० प्रतिशतबाट बढाएर ४.७५ प्रतिशत भन्सार महशुल लगाएको छ । त्यस्तै अन्तः शुल्क पनि प्रतिटन १६५० बाट बढाएर २५०० पुर्याएको उद्योगीले बताएका छन् ।
यही कारण ती २४ डन्डी उत्पादक उद्योगी आन्दोलित बनेका छन् । डन्डी उत्पादक सङ्घका पूर्व अध्यक्ष किरण शाखःले बताए भने, ‘हामीलाई अन्यायमा पारियो, सरकारले हाम्रो कुरा सुनेन ।’ उनले सञ्चार माध्यमलाई अधिकांश उद्योगको मर्काका बारेमा बुझेर समाचार सम्प्रेषण गरिदिन पनि आग्रह गरे । संघले सोमबार पत्रकार सम्मेलन नै आयोजना गरेर उक्त नीतिको विरोध गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षसमेत रहेका छड उद्योगी अञ्जन श्रेष्ठले राज्यले सबै उद्योगीलाई बराबरी दृष्टिले हेर्न नसकेको बताए । कार्यक्रममा पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले चाहीँ नेपालमा आफैं स्पञ्च (कच्चा फलाम) पगालेर सिधै फलामे छड उत्पादन गर्दा त्यस्ता डण्डीको गुणस्तरमा भारी कमी आउने दाबी गरे ।
नेपालमा हाल जगदम्बा स्टिल, लक्ष्मी स्टिल, अम्बे स्टिल, अशोक स्टिल, नारायणी टीएमटी, पशुपति स्टिल र सर्वोत्तम स्टिल्सले सिधै स्पञ्ज पगालेर डण्डी उत्पादन गरिरहेका छन् । यी उद्योगले सरकारी नीतिका कारण नेपालमा लगानी, रोजगारी र आन्तरिक उत्पादन बढ्ने भन्दै स्वागत गरेका छन् । उनीहरुले विद्युत् खपत बढ्ने, लागत कम हुँदा मूल्य पनि सस्तिने र गुणस्तर पनि सुधार हुने दाबी गरेका छन् ।













