अब पातलो प्लास्टिक झोलाको प्रयोग गर्न नपाइने, यस्तो छ प्रतिबन्धको व्यवस्था
काठमाडौं । सरकारले पातलो प्लास्टिकका थैलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । दुई वर्षअघि जारी भएको वातावरण संरक्षण ऐनको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
आज सोमबार मन्त्रालयले राजपत्रमा सूचना जारी गरेर पातला प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको हो । अब ‘४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्ण रुपमा रोक लगाउने’ मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जारी गरेको सूचनामा उल्लेख छ । गएको जेठमा केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् जारी गरेको बजेटमा पनि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने उल्लेख थियो ।
कतिपयलाई माइक्रोनको मतलव पनि थाहा नहुन सक्छ । माइक्रोन भनेको लम्बाइ नाप्ने एकाई हो । जसरी हामीले १ मिटरमा १०० सेण्टिमिटर हुन्छ भनेर पढेका छौं, त्यसरी नै १ सेण्टिमिटरमा १० हजार माइक्रोन हुन्छ । अर्थात् १ सेण्टिमिटरलाई १० हजार भाग लगाउँदा १ माइक्रोन लम्बाइ हुन्छ । यहाँ प्लास्टिक कति बाक्लो वा पातलो छ भनेर माइक्रोनमा नाप गरिन्छ ।
धेरै पातलो प्लास्टिक एक पटकमात्रै प्रयोग गर्न सकिने र त्यसलाई पुनःप्रशोधन गरेर नयाँ प्लास्टिक बनाउन पनि कठीन हुने भएपछि सरकारले यस्ता पातला प्लास्टिकको उत्पादन र विक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । विगतमा नेपालमा १० माएक्रोनसम्मका प्लास्टिक उत्पादन हुन्थे ।
त्यसबेला सरकारले कम्तिमा २० माइक्रोन वा त्योभन्दा बाक्लो प्लास्टिकमात्रै उत्पादन गर्नुपर्ने कानून ल्याएको थियो । अहिले त्यसलाई पुनः दोब्बर बढाएर ४० माइक्रोन बनाइएको छ । प्लास्टिक थैलाले वातावरण प्रदूषणमा असाध्यै ठूलो असर पारिरहेको भन्दै संसारभर प्लास्टिकजन्य फोहोर नियन्त्रणका अभियान चालिएको छ ।














