२ कार्तिक २०८३, सोमबार

देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने पक्का



काठमाडौं । डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन गठबन्धन सरकारको सहमती भएको छ । प्रधानमन्त्री नियुक्त भएको २ महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका हुन । आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा देउवाले परराष्ट्रमन्त्रीमा खड्कालाई प्रस्ताव गरेको र गठबन्धनको सहमती जुटेको स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री छिटै नियुक्त गर्नेबारेमा पनि छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

कांग्रेस सांसद खड्काले भोली नै परराष्ट्रमन्त्रीको सपथ लिने समेत उनले बताए ।अन्य मन्त्रालय भागवण्डाबारे छलफल गरेर छिटै सरकार विस्तार गर्न भोलि फेरि सत्तारुढ गठबन्धनको बैठक बस्ने छ ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । त्यसैगरी साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।