उद्योग परिसंघ र चार्टर एकाउन्टेन्ट संघबिच आपसी सहयोग अभिवृद्धि गर्ने सम्झौता
काठमाडौँ । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर एकाउन्टेन्ट सङ्घबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सङ्घका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन ।
समझदारीअनुसार दुवै संस्थाले एक आपसमा सहयोग अभिवृद्धि गर्नेछन् । यसै गरी दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्ने छ । आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएका उक्त समझदारी पत्रमा लेखिएको छ ।
समझदारीअनुसार परिसंघका विभिन्न समितिमा सङ्घको तर्फबाट पदेन सदस्यको रूपमा प्रतिनिधित्व रहनेछ । यसै गरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गने समेत समझदारी पत्रमा उल्लेख छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए । यस सझदारीले दुई निकायबीच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरुले लाभ लिन सक्ने अध्यक्ष अग्रवालले बताएका छन ।
यसैगरी सङ्घका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने भन्नुहुँदै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताएका छन ।कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं बैंकिङ समितिका सभापति अनलराज भट्टराई एवं सङ्घका उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र कोषाध्यक्ष सुशील घिमिरेको उपस्थिति थियो ।













