मन्त्रालयको भागवण्डा टुंगियो, कुन पार्टीलाई कुन मन्त्रालय ?
काठमाडौं । सत्तारुढ गठबन्धकका नेताहरुले मन्त्रालयको भागवण्डा टुंग्याएका छन् । मंगलबार सत्तारुढ ४ दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालयको भागवण्डा टुंगिएको हो ।
जसमा नेपाली कांग्रेस पार्टीले ८ मन्त्रालय, एकीकृत समाजवादी पाटी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय र माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाउने भएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने निश्चित भएको स्रोतले बताएको छ । हाल नेपाली कांग्रेसले गृह, परराष्ट्र र कानून मन्त्रालय पाइसकेको छ । अब नेपाली कांग्रेसको भागमा सञ्चारसहित अन्य मन्त्रालय पाउने छ ।
यता, माओवादी केन्द्रको भागमा भने ५ वटा मन्त्रालय परेको छ । हाल माओवादीले अर्थ र उर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेको छ । माओवादी केन्द्रले भूमि व्यवस्था, सहाकरी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षि मन्त्रालय पाउने छ ।
त्यस्तै, जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको जनाएको छ ।
नेकपा एसले भने रक्षा, शहरी विकास, युवा तथा खेलकुद, संस्कृति पर्यटन तथा नागरिक उड्यन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ ।
त्यस्तै, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने सहमति भएको छ । सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।












