२ कार्तिक २०८३, सोमबार

नरेन्द्र मोदीको दल भाजपाको निम्तामान्न महतको नेतृत्वमा भारत जाँदै कांग्रेसको टोली, प्रधानमन्त्रीको भ्रमणबारे छलफल हुने



काठमाडौं । भारतको सत्ताशिन राजनीति दल ‘भारतीय जनता पार्टी (भाजपा)’ को निमन्त्रणामा नेपाली काँग्रेसको एक प्रतिनिधी मण्डल भारत भ्रमणमा जाने भएको छ । भोलि विहीबार कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा उक्त टोली भारत जान लागेको हो ।

दशैंको पहिलो दिन अर्थात् घटस्थपनाकै दिन कांग्रेसको राजनीतिक भ्रमण हुन लागेका हो । टोलीमा कांग्रेस नेताहरु उदयशमशेर राणा र अजय चौरासिया सहभागि हुने छन् । उक्त भ्रमण दुई देशका राजनीतिक दलबीचको सम्बन्ध विस्तारमा केद्रित रहने कांग्रेसले बताएको छ ।

दुई महिना अघिमात्रै भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटेका थिए । भाजपा अहिले सरकारको नेतृत्वमा रहेर पनि दक्षिण एसियामा आफ्नो दलीय राजनीतिक सम्बन्ध विस्तार गर्ने प्रयासमा छ ।

सरकारमा हुँदा दुई देशबीचको सम्बन्ध अघि बढ्ने भए पनि छिमेकी मुलुकहरुसँग राजनीतिक दलकै हैसियतमा सम्बन्ध सुधार्ने प्रयासमा लागेको भाजपाले दशैंको मुखमा कांग्रेसलाई निम्त्याएको हो । उक्त भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे पनि छलफल हुने बताइएको छ ।

भारतले मन्त्री परिषद पुर्णता नपाउँदासम्म भ्रमणको निम्तो नदिने संकेत गरेको थियो । यसअघि देउवा प्रधानमन्त्रीमा नियुक्त भए पछि पनि भारतले तत्कालै बधाई नदिएको भन्दै विरोध भएको थियो । तर देउवाले संसदबाट विस्वासको मत पाइसकेपछि भारतले बधाई दिएको थियो ।