आजबाट शुरु भयो दशैं, माता दुर्गाको प्रथम स्वरुप शैलपुत्रीका आरधना मन्त्र के हुन् ?
काठमाडौं । आजबाट नवरात्री शुरु भएको छ । नेपालमा शरदीय नवरात्री बढी महत्वका साथ मनाइन्छ । वर्षमा चार नवरात्री पर्छ । चैत, साउन, असोज र पुसमा । यसमध्ये चैतको वसन्त नवरात्री र असोजको शरदीय नवरात्रीको विशेष महत्व छ । दक्षिण भारतमा वैष्णवहरुले श्रीरामले रावणमाथि विजय गरेको दिनलाई नवरात्रीका रुपमा विशेष महत्व दिन्छन् ।
उत्तर भारत र नेपालमा शैव संस्कृति बढी प्रचलित छ । यही कारण यहाँ शरदीय नवरात्रीलाई बढी महत्व दिइन्छ । यो बेला भारतमा दशहरा व्रत गरिन्छ भने नेपालमा महामालीलाई बली दिने प्रथा छ । आज घटस्थपना हो । घटको अर्थ जल भरिएको घडा हो । यही दिन विजयादशमीका लागि जमरा राख्ने पनि चलन छ ।
घटस्थपनाका दिन जमरा राख्नेले विहान राख्छन् । कतिपयले भने द्वीतियाको जुन हेरेर जमरा राख्ने गर्छन् । तर यस वर्ष द्वीतियाको जमरा राख्नेले पनि आजै बेलुका राख्नुपर्ने भएको छ । नवरात्रीमा नव (नौ जना अर्थात् नौ स्वरुप) दुर्गाको पूजा गरिन्छ ।
शैव परम्परामा शिव पार्वतीका ११ रौद्र स्वरुपको वर्णन गरिएको छ । कपाली, पिंगल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड र भव एकादश रुद्रका स्वरुप बताइएको छ । यिनै एकादश रुद्र स्वरुप शक्तिमाताका पनि प्रकट भएका छन् । ती हुन्, जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा ।
यिनै एघार रौद्र (विनाशकारी) स्वरुपमध्येको दुर्गा स्वरुपमा पनि माता आदी शक्तिले ९ रुप ग्रहण गरेकी बताइन्छ । यिनै ९ स्वरुपकी दुर्गालाई अहिलेको दशैंमा पूजा आरधना गरिन्छ । ती हुन्, शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कंदमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री ।
आज घटस्थपनाको दिन माता शैलपुत्रीको पूजा आरधना गरिन्छ । देवी पार्वतीले शैल अर्थात् हिमालय पर्वतकी छोरी बनेर जन्म लिएपछि शैलपुत्रीको नामले पुकारिन्छ । पुराणमा बताइए अनुसार माता शैलपूत्रीको स्वरुप ‘सेतो साँढेमाथि चढेकी, शीरमा अर्धचन्द्र सुशोभित भएकी, दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी’ वर्णन छ ।
यही कुरालाई शैलपूत्रीको ध्यान मन्त्रमा यसरी उल्लेख गरिएको छ:
वन्दे वांच्छित लाभाय चंद्रार्धकृतशेखराम् ।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम् ।।
माता शैलपुत्रीको बीजमन्त्र ‘ह्रीं शिवायै नमः ।’ हो । नर्वाण मन्त्रका साथ जोडेर शैलपुत्रीको पूजा गर्दा ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे ॐ शैलपुत्री देव्यै नमः’ मन्त्रको जप गरिन्छ । माताको वैदिक मन्त्र हो, ‘ॐ शं शैलपुत्री देव्यैः नमः ।’













