किमाथाङ्का नाकालाई व्यवस्थित गर्ने र अरुणमा अरु पनि विद्युत् आयोजना बनाउने अर्थमन्त्रीको वाचा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गरिने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अरुण करिडोरको निर्माणसँगै तिब्बतसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने उनले बताए ।
अरुण करिडोरको निर्माणले संखुवासभासहित पूर्वी पहाडको विकासको ढोका खुल्ने विश्वास धेरैले लिएका छन् । संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए ।
मन्त्री शर्माले अरुण नदीबाट उत्पादित विजुलीले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताए । अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
‘माथिल्लो अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ’, मन्त्री शर्माले भने । अहिले मुलुुकको व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन संखुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनको तर्क छ । अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउने उलने बताए ।















