२४ श्रावण २०८३, आइतबार

उज्यालो पर्वले उज्यालो भविष्य बनाओस्



सम्पादकीय


नेपालीको उज्यालो पर्व तिहार घरआँगनमा सुरु भइसकेको छ । तिहारसँग हाम्रा धार्मिक विश्वास जे–जे जोडिएको भए पनि तिहार उज्यालोको पर्व हो । किंवदन्तीको माला जति लामो भए पनि तिहार उज्यालोको पर्व नै हो । अँध्यारोलाई कसैले राम्रो, असल मान्दैनन् । सबै उज्यालोलाई राम्रो मान्दछन् । सबै उज्यालोकै पछि लाग्छन् । अहिले हाम्रो देश उज्यालोतर्फ उन्मुख भइरहेको छ । अर्थात् प्रगतितर्फ उन्मुख छ । विगतको अँध्यारोलाई पन्छाउँदै अघि बढिरहेको महसुस गर्न सकिन्छ । जुनसुकै विषयमा पनि नकारात्मक मात्र देख्नेको सङ्ख्या घट्दो छ । यो उज्यालो पर्वले देशभर उज्यालो आशा बढाउन सक्नुपर्छ ।

नयाँ संविधानपछि कार्यान्वयनसँगै देशले नयाँ फड्को मारिरहेको छ । देशमा राजनीतिक स्थिरता र समृद्धिका लागि कार्य हुन सक्यो भने मात्र देशमा उज्यालो फैलिनेछ । देशलाई सधैँ सङ्क्रमणकालमा राख्न चाहनेहरू फेरि सल्बलाइरहेका छन् । तिनीहरूलाई तिहारको उज्यालोले लपेटौँ । २००७ सालदेखि अहिलेसम्म हामी नेपाली सङ्क्रमणकाल छ भनी केही नगरी बसिरहेका छौँ । अहिले राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि फेरि धमिलो पानीमा माछा मार्ने प्रवृत्ति दलमा देखिएको छ । यो हुनु देशका लागि दुर्भाग्य हो । अझै दिशाविहीन अवस्थामा देशको शासन चलिरहेको छ ।

देशको विकास के होला । सधैँ अभाव, अविकासमा कतिन्जेल हामी रुमल्लिने ? छिमेकका देश विश्वका शक्तिसम्पन्न भइसक्दा पनि हामी भने आफैँ कहिले धर्मका नाममा, कहिले जातका नाममा, कहिले राजनीतिमा विभाजित भइरहेका छौँ । हामी नागरिक अधिकारको मात्र कुरा गरिरहेका छौँ । यो नागरिक अधिकारको कुरा गरिरहँदा आर्थिक अधिकार ओझेल परेको कसैले पत्तै पाएको छैन । हो, नागरिक अधिकार मुख्य हो । यसो भन्दैमा आर्थिक अधिकारका लागि काम नै नगरी नागरिक अधिकारले मात्र देश सम्पन्न हुन सक्दैन । मुखमा माड लाग्नका लागि आर्थिक विकास नै गर्नुपर्छ । त्यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त हो । राजनीतिमा सबै चिज जोडिने भएकाले अबको राजनीति देशको समग्र उज्यालोका लागि गरिनुपर्छ । सीमित घेरा, समूह, पार्टी, जात र धर्मभन्दा माथि उठेर हिँड्नुपर्छ । देश आत्मनिर्भरतर्फ उन्मुख हुन सक्नुपर्छ ।

सधैँभरि देशलाई अन्योलमा राखिरहने, भड्खालोमा जाकिरहने हो भने देश अझै अधोगतिमा जानेछ । देशका सक्षम युवा धमाधम बिदेसिइरहँदा अहिलेको यो युवापुस्ता सकिएपछि यो रूपमा भोलिको पुस्ता अवश्य रहँदैन । अहिले युवा जनशक्ति धेरै छ । यसलाई उपयोग गर्न नसके भोलिको युवा पुस्ता पक्कै युवाको भन्दा वृद्ध र बालबालिका बढी हुने दिन आउँछ । जन्मदर घट्दै गएको कारण भोलि वृद्धहरू धेरै भएको समय आउन टाढा छैन । यसैले यो युवा समूहलाई परिचालन गरी राज्यले धेरै लाभ लिने बेला यही हो । अब पनि राजनीतिको ह्रस्व–दीर्घमा अल्झिने हो भने हामी कहीँ पुग्दैनौँ । देशले केही पाउँदैन । मात्र सक्षम युवा गुमाउँछ । यो पुस्ताले चाख्न पाउने विकासको गति गुमाउँछ । यो उज्यालोको पर्वले हामी सबैलाई उज्यालोमा हिँड्न प्रेरित गरोस् । नेताहरू देशलाई उज्यालोमा हिँडाउन एकजुट होऊन् । सबैमा तिहारको शुभकामना । राजनीतिक नेतृत्व तहमा रहेकाको सद्बुद्धि पलाओस् ।