वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदले दिए विश्वासको मत
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।
प्रदेशसभामा रहेका १०९ जना सांसदमध्ये ५९ जनाले पक्षमा मतदान गरेका छन् । प्रदेशसभामा १ सय ४ जना सांसद उपस्थित भएका थिए । जसमध्ये ५९ जनाले विश्वासको मतको पक्षमा ४३ मत विपक्षमा परेको छ । २ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता तथा पार्टी उपाध्यक्ष रहेका पाण्डे नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेशसभामा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् । सभामा नेकपा एमाले र विवेकशील साझा पार्टीले विपक्षमा मत दिएका थिए ।















