हामीले लगाइरहेको खोप कति सुरक्षित, यि हुन् बढी मुलुकमा अनुमति पाएका मुख्य खोप
काठमाडौं । हालसम्म संसारमा कोरोना भाइरस विरुद्धका २५ वटा खोपहरु विकास भइसकेका छन् । यसमध्ये केही खोपहरु संसारभर बढी प्रचलनमा छन् भने अधिकांश खोप सीमित प्रयोग गरिएको छ । संयुक्त राष्ट्र संघले गत शुक्रबारसम्म ८ वटा खोपका लागि प्रयोग अनुमति दिइसकेको छ ।
यसमध्ये नेपालमा प्रयोग भएका खोपहरु कति सुरक्षित र प्रभावकारी छन् भन्ने प्रश्न उठ्छ । नेपालमा हालसम्म भारतमा उत्पादन भएको कोभिसिल्ड, चीनमा उत्पादन भएको भेरोसेल, बेलायतमा उत्पादन भएको एस्ट्राजेनेका र अमेरिकामा उत्पादन भएका जोनसेन तथा फाइजर खोप नेपालमा प्रयोग भएका छन् ।
यी ५ वटा खोपहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका ८ खोपमध्येकै हुन् । यसबाहेक अमेरिकामा उत्पादन भएको मोडेर्ना, चीनमा उत्पादन भएको कोरोनाभ्याक र भारतमा उत्पादन भएको कोभ्याक्सिनलाई पनि विश्व स्वास्थ्य संगठनले अन्तिम स्वीकृति दिइसकेको छ ।
यसमध्ये बेलायतको अक्सफोर्ड विश्वविद्यालयकै खोप उत्पादक एस्ट्राजेनेकाले उत्पादन गरेको खोप सबैभन्दा लोकप्रिय छ । यो खोपलाई हालसम्म संसारका १२४ मुलुकका कुनै न कुनै किसिमको प्रयोग अनुमति दिइएको छ । यसपछि अमेरिकी कम्पनी बायोएनटेकले उत्पादन गरेको फाइजर खोप बढी लोकप्रिय छ ।
फाइजरले हालसम्म १०३ मुलुकमा प्रयोग अनुमति पाएको छ । अमेरिकाकै उत्पादन मोडेर्नालाई पनि ७६ मुलुकमा अनुमति मिलेको छ भने अर्को अमेरिकी खोप जनसेनलाई ७५ मुलुकले अनुमति दिइसकेका छन् । यो खोप एक मात्रामात्रै लगाए पुग्नेगरी अमेरिकी कम्पनी जोनशन एण्ड जोनसनले उत्पादन गरेको हो ।
यसपछि पालो आउँछ चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरोसेल । यो खोप हालसम्म ६८ मुलुकमा प्रयोग अनुमति पाएको छ । भारतको सिरम इन्स्टीच्युटले उत्पादन गरेको कोभिसिल्डलाई पनि ४६ मुलुकमा प्रयोग अनुमति मिलेको छ ।
चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक ४२ मुलुकमा प्रयोग अनुमति पाएको खोप हो । विश्व स्वास्थ्य संगठनबाट भर्खरैमात्र अनुमति पाएको भारतीय कम्पनी भारत बायोटेकको उत्पादन कोभ्याक्सिनलाई भने हालसम्म केवल ९ राष्ट्रमा प्रयोग अनुमति मिलेको छ ।
यसबाहेक रूसी उत्पादन स्पुतनिक भी पनि निकै लोकप्रिय भइसकेको छ । यो खोपलाई ८३ मुलुकले प्रयोग अनुमति दिइसकेका छन् । स्पुतनिक लाइट, कन्भिडेसिया, सिनोफार्मा, अब्दाला, इपिभ्याककोरोना, जिफिभ्याक्स, सोबेरेना, क्वाजकोभिड–इन, कोभिभ्याक, कोभइरान, मेडिजेन, जिकोभजस्ता विभिन्न खोपहरु पनि उत्पादन र प्रयोग भइरहेका छन् ।













