२२ कार्तिक २०८३, आइतबार

शहरमा घर नहुने सैनिकलाई घर बनाउन सेनाले दिने भयो २५ लाख सहुलियत ऋण



काठमाडौं । नेपाली सेनालेसबै दर्जा र ओहोदाका सैनिकलाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण दिने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई ऋण दिने सुविधा सेनाले ल्याएको हो ।

यस व्यवस्था अनुसार ३.३२ प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा आवास निर्माण गर्न एक जना सैनिकले २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने छन् । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सकलदर्जाले लामो समयदेखि प्रतीक्षा गरेको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात् कल्याणकारी सेवासुविधामा समेत वृद्धि भई सैनिक सेवाप्रति आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरूको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्न लागेको छ । अवकाश प्राप्त सकलदर्जाको मागअनुरुप ६० वर्ष उमेरमाथिको निवृत्तिभरण रकमलाई मासिक १ हजार रुपैयाँ पुर्‍याएको पनि विभागले जनाएको छ ।

सेनाले सबै प्रदेशमा सैनिक अस्पताल र महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापनाको कार्ययोजना अघि बढिरहेको जनाएको छ ।