नेपाल टेलिकममा एमडीका लागि खुल्यो आवेदन, पुस ७ गतेभित्र दिइसक्नु पर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल टेलिकममा एमडीका लागि खुल्यो आवेदन, पुस ७ गतेभित्र दिइसक्नु पर्ने



काठमाडौं । नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका लागि दरखास्तको सूचना निकालेको छ । सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया लागि खुला दरखास्त माग गरेको हो ।

अहिलेका एमडी डिल्लीराम अधिकारीको पदावधि पुस २२ गते सकिने भएपछि नयाँ एमडीका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले सूचना निकालेको हो । खुला प्रतिस्पर्धाबाट एमडी नियुक्ति गर्ने प्रक्रिया अनुसार पुस ७ गतेभित्र आकांक्षीले आवेदन दिइ सक्नु पर्ने छ ।

उक्त पदका लागि नेपाल दूरसंचार कम्पनी प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिने व्यवस्था रहेको छ । नेपाल दूरसंचार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसंचार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षसहित १२ वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

मन्त्रालयका अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ ।

मन्त्रालयले व्यवस्थापकीय पदलाई समेत खुलाउँदै तहगत व्यवस्था भएका निकायका हकमा दसौं वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायकोहकमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिको श्रेणी भनेर उल्लेख गरेको छ ।

उम्मेदवारले पेस गरेको व्यवसायिक कार्ययोजना र सोको प्रस्तुती, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि मन्त्रालय समक्ष पेश गर्ने जनाएको छ ।

नेपाल दूरसंचार कम्पनीको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धि निर्देशिका, २०७८ र उम्मेदवारले दरखास्त साथ पेस गर्नुपर्ने स्व : घोषणाको ढाँचा मन्त्रालयको वेवसाइड www.mocit.gov.np बाट प्राप्त गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्