पुसमा बैङ्कले ब्याज नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनी पनि पछि हट्ने संकेत - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

पुसमा बैङ्कले ब्याज नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनी पनि पछि हट्ने संकेत



रेमिट्यान्सको नाममा गोलमाल भयो : वित्त कम्पनी संघ

काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स एसोसिएसनले पुस महिनाको लागी निक्षेपको व्याज नबढाउने भएका छन् । शुक्रवार बसेको बैंकर्स सङ्घको फुल बैठकले मङ्सिरमै कायम रहेको ब्याजदर पुसको लागी पनि कायम गर्ने विषयमा भद्र सहमति भएको एक बैंकरले बताएका छन् । 

शुक्रवारको बैठकमा अनुपस्थित २ बैङ्कलाई समेत राखेर निक्षेपको ब्याजदर नबढाउन आग्रह गर्ने निर्णय गरेको थियो । बैङ्कहरूले निक्षेपको व्याज नबढाए पनि वित्त कम्पनी सङ्घ र विकास बैंकर्स सङ्घले भने सोमबार भोलि बैठक गरेर निर्णय लिने भएका छन् । 

विकास बैंकर्स सङ्घका अध्यक्ष प्रद्युम्न पोखरेलले आफू पोखरा रहेको र भोलि काठमाडौँ आएर मिटिङबाट निर्णय लिने बताए । विकास बैंकर्स सङ्घका महासचिव बोधराज देवकोटाले वाणिज्य बैङ्कले पनि निक्षेपको व्याज नबढाए आफूहरूले मात्र बढाएर निक्षेप नबढ्ने बताए । 

उता वित्त कम्पनी सङ्घले भने बैङ्कहरूले रेमिट्यान्सको नाममा १ प्रतिशत व्याज बढाएर आफूहरूमाथि पेलेको आरोप छ । सङ्घका अध्यक्ष सरोजकाजी तुलाधरले भने ‘बैङ्कहरूले रियल रेमिट्यान्स ल्याएर व्याज बढाए कि, अन्य निक्षेपलाई रेमिट्यान्समा गणना गरे यसबारे बुझेर मात्रै निर्णय लिन्छौँ ।’ वित्त कम्पनी सङ्घमा व्याज बढाउनुपर्ने दबाब रहे पनि विकास बैंकर्स सङ्घमा त्यस्तो नरहेको बताइएको छ ।

नेपाल बैंकर्स एसोसिएसनको बैठक शुक्रवार बसेको छ । बजारमा तरलताको सङ्कट बढ्दै गएको भए पनि पौष महिनाको लागी ब्याजदर नबढाउने सहमति भएको सहभागी एक बैंकरले बताए । 

Tags :

प्रतिक्रिया दिनुहोस्