झन्झट रहित बनाउन वीरगञ्ज बन्दरगाहको काम अनलाइनबाट गरिने
काठमाडौं । नेपाल विश्वमा नै सबैभन्दा बढी कागजी रुपमा काम गर्ने मुलुकमा पर्ने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजी रुपमा काम गर्ने भएका कारण हरेक क्षेत्रमा ढिलाई भइरहेको बताएका हुन्
शनिबार वीरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार गर्ने बताएका छन् ।
उनले भने, ‘बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र एकीकृत जाँच चौकी (आइसिपी) कार्यालयमा पुष १ गतेबाट अनलाइन प्रणालीबाट हुने भएको छ ।’ अन्तरक्रिया कार्यक्रमको क्रममा भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरि सकेको पौडेलले बताए ।
कागजी काम हरेक क्षेत्रमा कम गर्ने विभिन्न नयाँ प्रविधिहरुको प्रयोग बढाउँदै जानु पर्नेमा समेत पौडेलले जोड दिएका थिए । केही अनलाइन प्रणाली सुरु भएता पनि सबै कागज र नगद रहित काम हुन बाँकी रहेका छन् ।
त्यस्तै, आइसिपी स्थापना भएसँगै व्यवसायीहरुलाई सजिलो भएको छ । विदेशबाट आयात गरिएको सामान छोटो समयमा नै बजारमा पुग्ने, खर्च अर्थात लागत कम हुदै गएको छ । अझ पूर्ण रुपमा अनलाइन प्रणाली लागूभए पछि व्यवसायी र सरकार दुबैलाई राम्रो हुन्छ ।’ वीरगञ्ज भन्सारले बिदेशबाट आयात भएका समानलाई नियमन गर्न ग्रिन, हेलो, ब्ल्यु र रेड लेन बनाइएको समेत बताएका छन् ।
आइसिपीमा सञ्चालन र व्यवस्थापन गर्ने काममा लागिरहेको नेपाल इन्टरमोडल यातायात समिति विरगञ्जका प्रमुख कमल ज्ञवालीले जानकारी दिएका छन् । उनले भने, ‘आइसिपी सञ्चालनले समय र लागतलाई कमी गर्ने छ ।’ गाडीको व्यवस्थापन गर्न सहजीकरणको लागि आइसिपीमा १० वटा लेन रहेको छन् । चालु आर्थिक बर्ष समितिमा १ लाख १२ हजार २४१ वटा गाडी भित्रिएका छन् । जसमध्ये ९८ हजार ८०९ वटा बाहिरीएका छन् । भने त्यस्तै, आइसिपीले पनि विभिन्न पार्किङ, इन्ट्रि शुल्क गोदाम शुल्क शिर्षकमा राजश्व उठाउदाँ चालु आर्थिक वर्षमा ११ करोड ८९ लाख ५४ हजार ५३१ रुपैयाँ संकलन गरेको बताए ।













