महासंघको अध्यक्ष पदको प्रत्यक्ष चुनाव गर्न र बरिष्ठ उपाध्यक्ष पद हटाउन प्रस्ताव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ । महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजकत्वको विधान समितिले यस्तो सुझाव दिएको हो । समितिले महासंघ अध्यक्षको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष हुनुपर्ने सुझाव दिएको छ ।
समितिले नयाँ विधानको मस्यौदा तयार पारेर महासंघलाई बुझाएको हो । मस्यौदामा वरिष्ठ उपाध्यक्ष पद र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ । तर, वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई महासंघको स्वतः अध्यक्ष बन्न भने कोकिने छैन् । ढकालपछि महासंघको अध्यक्ष हुने व्यक्ति प्रत्यक्ष निर्वाचन लड्नु पर्ने भएको हो । महासंघको कार्यसमिति सदस्य भएको अवधिका आधारमा उपाध्यक्षहरुको वरिष्ठताक्रम तय हुने विधानमा व्यवस्था छ ।
विधानमा कोषाध्यक्ष पद खारेज गरेर एक जना उपाध्यक्षले कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न व्यवस्था गरिएको छ । महासंघको उपाध्यक्षमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, महासंघका सबै विधाको कार्यसमितिमा महिला सदस्य अनिवार्य गरिएको छ ।
नयाँ विधानमा कार्यसमितिको कार्यकाल ३ वर्षबाट २ वर्षको बनाउन सुझाव दिएको हो । अध्यक्ष पदमा एक पटक मात्रै कायम हुने व्यवस्था गरिएको छ । महासंघको उपाध्यक्ष बन्नको लागि कार्यसमितिमा कम्तिमा ३ कार्यकाल रहेको हुनुपर्ने योग्यता थपेको छ । यस्तै, महासंघका प्रदेश कार्यालयहरुको आम्दानी कम हुँदा संचालन गर्नै अप्ठेरो परेकोले खर्च महासंघको केन्द्रले व्यहोर्न प्रस्ताव गरिएको हो ।
समितिले गरेको प्रस्ताव अनुसार नै विधान संशोधन भए महासंघ नेतृत्वको निर्वाचन प्रदेशहरुमा हुनेछ । समितिले दिएको मस्यौदा महासंघ कार्यसमितिले निर्णय गरी साधारणसभाबाट अनुमोदन गराउनु पर्छ । जोशी संयोजकत्वको सो समितिमा मुरारका सहसंयोजक थिए । सदस्यहरुमा किशोर प्रधान, डिवी थापा, अशोक तोदी, सुनिल श्रेष्ठ र सरोज श्रेष्ठ सदस्य थिए ।













