२० भदौ २०८३, शनिबार

महालक्ष्मी विकास बैंकको साधारण सभा आह्वान, लाभांश पारित गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पौष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा पौष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो ।

बैंकको वार्षिक साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्नेछ ।

त्यस्तै, सर्वसाधारण समूहबाट ३ जना र संस्थापक शेयरधनीको तर्फबाट ३ जना गरी कूल ६ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने जस्ता प्रस्तावहरू पारित गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।