शोधनान्तर घाटा १५० अर्ब ३८ करोड, सवा २ अर्ब कट्यो चालु खाता घाटा
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ४ महिनाको अवधिमा मुलुकको चालु खाता एवम् शोधनान्तर स्थिति ओरालो लाग्दै गएको देखिएको छ ।
चालु आर्थिक बर्षको चार महिनामा चालु खाता २२३ अर्ब १९ करोडले घाटा भएको छ । नेपाल राष्ट्र बैंकले ४ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै यस्तो तथ्याकं उल्लेख गरेको हो ।
गत आर्थिक बर्ष सोही अवधीमा १९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोड घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंक अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई २ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । भने प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो बर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै समीक्षा अवधिमा शोधानान्तर स्थिति १५० अर्ब ३८ करोडले घाटामा रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा शोधानान्तर स्थिति ११० अर्ब ६५ करोड रुपैयाँले बचत मा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो बर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचत मा रहेको शोधानान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ ।













