इन्टरनेट अर्थतन्त्रका बारेमा अध्ययन गर्न र शिक्षामा २० प्रतिशत बजेट छुट्याउन पूर्वअर्थमन्त्री पाण्डेको जोड
काठमाडौं । राज्यले सम्पूर्ण बजेटको २० प्रतिशत लगानी शिक्षामा गर्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले बताएका छन् । आफू अर्थमन्त्री हुँदा बजेटमा १७ प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि छुट्याएको भएपनि अहिलेको सरकारले १० प्रतिशत मात्रै छुट्याएकोमा उनले दुख व्यक्त गरे । शिक्षामा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन उनले सरकारसँग माग गरे । करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले आयोजना गरेको ‘तेस्रो करियर फेस्ट’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले यस्तो बताएका हुन् ।
पूर्वअर्थमन्त्री पाण्डेले इन्टरनेटको आविष्कार पछिको अर्थतन्त्रलाई इन्टरनेट अर्थतन्त्र भनिने भएकाले यसको बारेमा अध्ययन हुनुपर्ने बताएका छन् । इन्टरनेट अर्थतन्त्रको बारेमा अध्ययन गरिएन भने अबका सबै मानिसहरू पुरानो स्थितिमा फर्किन सक्ने र नयाँ ठाउँमा प्रतिस्पर्धा गर्न असक्षम हुने उनले बताए ।
संसार तिव्र रुपमा परिवर्तन भइरहेकाले भविष्यको शिक्षा प्रणाली र राजनीतिक प्रणालीका बारेमा अहिलेदेखि नै अध्ययन गर्नुपर्ने उनको भनाई छ । परम्परागत कुरा गरेर अबको शिक्षा अगाडि बढ्न नसक्ने उनले बताए । शिक्षा नयाँ कुराको बारेमा सोच्ने एक प्रकारको पाठशाला भएको उनले बताए ।
२१ औँ शताब्दीको क्यापिटालिज्म ज्ञान भएकाले सबैभन्दा ठूलो धन सम्पति तथा लगानी भनेको शिक्षा भएको पूर्वमन्त्री पाण्डेको भनाई छ । शिक्षा दिमागलाई तालिम दिने विधा भएको उनी बताउँछन् । नेपालको शिक्षा परम्परागत भएकाले समय अनुकुल बनाएर अनुसन्धानात्मक बनाउन उनले जोड दिए ।
देशको विकास काठमाडौं केन्द्रित रहेको उनले बताए । उनले भने, “बजारमा ७ सय अर्ब नोट सर्कुलर छ, त्यसको ६० प्रतिशत अर्थात झण्डै ४ खर्ब रुपैयाँ काठमाडौं छ, देशको ५२ प्रतिशत कर काठमाडौँले उठाउँछ ।” काठमाडौं केन्द्रित विकासलाई बाहिर पनि ट्रान्सफर गरेर देशैभरि राम्रो शैक्षिक केन्द्र निर्माण गर्ने हो भने सक्षम जनशक्ति उत्पादन हुने पाण्डे बताउँछन् ।
करियर पोइन्ट एजुकेसनले मंगलबार ‘करियर फेस्ट’ कार्यक्रम आयोजना गरेको हो । राष्ट्रिय सभा गृहमा मंगलबार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म ‘करियर फेस्ट’ को आयोजना भएको हो । करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले प्रत्येक बर्ष करियर फेस्ट आयोजना गर्दै आएको छ ।
नेपाल भित्रै उच्च शिक्षा अध्ययनको संस्कृतिलाई बढावा दिन र पछिल्लो समय नेपालमा पनि अन्तराष्ट्रिय स्तरको शिक्षाको विकास भएकाले शिक्षाको लागि नै विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले करियर फेस्टको आयोजना गरिएको हो ।













