पाँच महिनामै १ खर्ब बढीको निर्यात, आयातमा पनि वृद्धि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पाँच महिनामै १ खर्ब बढीको निर्यात, आयातमा पनि वृद्धि



मानमति पन्त

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो पाँच महिनामै १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म कुल १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०५.६१ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा मात्र ५० अर्ब ५ करोड ५६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो वर्ष वनस्पती तेलको हिस्सा सर्वाधिक रहेको छ । भट्मास र पाम आयलको तेलले निर्यातमा भूमिका खेलेको हो ।

निर्यात बढेको यो वर्ष आयात समेत चुलिएको छ । चालु आवको पाँच महिनासम्म ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । गत आवको यसै अवधिमा मात्र ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले गत आवको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ ।

नेपालको वैदेशिक व्यापार पाँच महिनामै साढे ९ खर्ब हाराहारी पुगेको छ । पाँच महिनाको अवधिमा कुल ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ६३.५५ प्रतिशतले बढी हो । गत आवमा मात्र ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।

पाँच महिनामै लगभग साढे ७ खर्ब व्यापार घाटा

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म नेपालको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ५४.७० प्रतिशत बढी हो । गत आवको यसै अवधिमा नेपालको व्यापार घाटा मात्र ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा केही घट्दा (–२.४५ प्रतिशत) निर्यातको हिस्सामा भने २५.७२ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्तो छ पाँच महिनाको वैदेशिक व्यापार

आयात : ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ (५९.५५ प्रतिशत बढेको)

निर्यात : १ खर्ब २ अर्ब ९२ रकोड रुपैयाँ (१०५.६१ प्रतिशत बढेको)

व्यापार घाटा : ७ खर्ब ३५ अर्ब ४८ रकोड रुपैयाँ (५४.७० प्रतिशत बढेको)

कुल वैदेशिक व्यापार : ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ (६३.५५ प्रतिशत बढेको)

व्यापारमा आयातको हिस्सा : ८९.०७ प्रतिशत (२.४५ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : १०.९३ प्रतिशत (२५.७२ प्रतिशतले बढेको)

३० अर्ब बराबरको सोयाविनको तेल बाहिरियो

विभिन्न वस्तु बाहिरीने क्रममा सबै भन्दा बढी मात्रामा पाँच महिनाको अवधिमा सोयाविनको तेल ३० अर्ब रुपैयाँ निर्यात भएको छ । विगतमा निर्यात बजारले खासै प्रभाव नपारे पनि अहिलेको अवस्थामा भने निर्यात पनि बढ्दो मात्रामा रहेको छ । यो वर्षको पहिलो पाँच महिनामा भने निर्यातमा सुधार भएको पाइएको हो ।

यो अवधिमा ३० अर्ब ५५ करोड रुपैयाँ बराबरको सोयाविनको तेल निर्यात भएको छ । गत बर्षको तुलनामा यो निर्यात दोब्बर नै हो । गत बर्ष यो अवधीमा १३ अर्ब ५० करोड बराबरको मात्र सोयाविनको तेल निर्यात भएको थियो ।

७३ अर्ब बराबरको पेट्रोलियम पदार्थ भित्रियो

विभिन्न प्रकारको पेट्रोलियम पदार्थको आयातमा मात्र पाँच महिनाको अवधिमा ७३ अर्ब रुपैयाँ आयात भएको छ । यो पाँच महिनाको अवधिमा ४९ अर्ब २ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । भने २४ अर्ब १० करोड रुपैयाँको पेट्रोल आयात गरि जम्मा पेट्रोलियम पदार्थ ७३ अर्ब १२ करोड रुपैयाँको आयत भएको हो ।

त्यस्तै एलपिजी ग्यास २३ अर्ब ११ करोड रुपैयाँ बराबरको आयात भएको छ । भने सोयाविनको तेल र पाम आयलको तेल ५८ अर्ब २८ करोड रुपैयाँ बराबरको भित्रिएको छ ।

नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर रहेको छ । सोहीकारण आयात र निर्यात दुबैमा भारतको हिस्सा अधिक रहेको विभागको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्