‘कामना सेवा फुट्सल कप २०२१’आयोजना गर्ने, बैंक तथा वित्तीय र बीमाका २४ टिम सहभागी हुने
काठमाडौं । कामना सेवा विकास बैंकले “कामना सेवा फुट्सल कप २०२१” प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरि “स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क” भन्ने नाराका साथ बैंकले पौष ९ र १० गते “कामना सेवा फुट्सल कप २०२१” प्रतियोगिता आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको घोषणा गरेको छ भने खेल तालिका समेत सार्वजनिक गरेको छ ।
फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको हो । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, नि.प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, सञ्चारकर्मीहरु, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले पौष ९ गते समुद्घाटन गर्नेछन् भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समापन गर्नेछन् ।
पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ । यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने अध्यक्ष्य सुदीप आचार्यले बताए ।













