तीन कम्पनीको शेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

तीन कम्पनीको शेयरमूल्य समायोजन



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले महालक्ष्मी विकास बैंक सहित तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । यी कम्पनीहरुको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि नेप्सेले कम्पनीहरुको सोमवार कायम अन्तिम शेयरमूल्यको आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको रू. ३९१ अन्तिम मूल्यको आधारमा ७ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ३६५ दशमलव ४२ तोकेको छ ।

त्यस्तै, नेप्सेले महालक्ष्मी विकास बैंकको रू. ५६४ दशमलव ४० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ४७० दशमलव ३३ तोकेको हो भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको रू. १ हजार ५५५ को आधारमा २९ दशमलव ५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार २०० तोकेको हो । तीन कम्पनीहरुलेनै प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोज पछिको मूल्य तोकिदिएको हो ।

बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र यी कम्पनीहरुको लाभांश प्राप्त गर्न सभामा भाग लिन सक्नेछन् । महालक्ष्मी विकास बैंकले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि बैंकले पुस २५ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । त्यसैगरी नेपाल हाइड्रो डेभलोपर्स ले पुस २८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले बोनसशेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । निर्धन उत्थान लघुवित्तले पनि बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको हो ।


प्रतिक्रिया दिनुहोस्