नेपाल बङ्गलादेश बैंकको २७ औँ बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरु मालामाल बने
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २७ औँ बार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ । बैंकले साधारण सभामा अनलाइनको माध्यमबाट भच्र्युअल रूपमा सम्पन्न गरेको हो ।
बैंकका अध्यक्ष ए.आर.एम. नजसमुस शकिबको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७÷०७८ को मूनाफाबाट हाल कायम चूक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद गरी कूल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै बैंकले कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीहरू अपनाई शेयरधनीहरुको उपस्थितिमा सम्पन्न निर्वाचनबाट बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।
निर्वाचनमा संस्थापक समूहबाट ए.आर.एम नजमुस शकिब, एम. शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएका छन् ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।













