इजीलिंक रेमिट्यान्स र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सझौता
काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल र महालक्ष्मी विकास वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्यसंचालन विभाग प्रमुख रमेश कुमार साहले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मासारी पेमेन्ट सर्भिसेस, अष्ट्रेलियाबाट इजीलिंक द्रान्सफर साथै SBL Remit, Remit2Nepal, Kamana Sewa Remit, ADB Remit, Lumbini Remit मार्फत आएको रकम महालक्ष्मी विकास बैंकको नेपालभरि छरिएर रहेका १०३ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।
छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राही सम्म पुर्याउन यो सम्झौताले थप सहज हुने बताइएको छ । इजीलिंक रेमिट्यान्सले आफनो व्यवसाय विस्तारलाइ तिब्रता दिंदै खाडी मुलुक लगायत विश्वका विभिन्न मुलुकहरुबाट समेत तत्कालै सेवा सुचारु गर्न लागिएको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए ।
हाल इजीलिंक रेमिट्यान्स प्रा.लि.ले ग्राहकको चाहनालाई मध्यनजर गदै दक्षिण कोरिया, जापान, साइप्रस, अष्द्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुबाट रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ । विदेशबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने व्यवस्था पनि मिलाएको छ । नेपालभरि छरिएर रहेका बैंक तथा वित्तिय संस्था, सहकारी, फाइनान्स कम्पनी, भुक्तानी एजेन्टहरु सहित देशभरी रहेका ७,००० भन्दा बढि एजेन्ट संञ्जालहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेशन म्यानेजर सालिक राम दाहालले जानकारी गराए ।













