नबिल र एनबि मर्जरको लागि उपाध्यायको संयोजकत्वमा मर्जर समिति गठन, आइतबार एमओयूको तयारी
काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच मर्जर प्रक्रिया अगाडि बढेको छ । दुबै बैंकबीच मर्जर प्रक्रिया अगाडि बढाउनको लागि मर्जर समिति गठन गरिएको हो । नबिल बैंकले मर्जर प्रक्रिया अगाडि बढाउन सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन गरेको हो । उपाध्याय कुमारी बैंकका पूव सीईओ हुन् ।
बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका उपाध्यायले आगामी साताभित्र एमओयू गर्ने गरी काम थालेका छन् । आइतबारसम्म सहमति पत्रमा हस्ताक्षर (एमओयू) गर्ने पक्कापक्की जस्तै रहेको नबिल बैंक स्रोतले बताएको छ । आइतबार एमओयू गरेर नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार पनि रोक्का गर्ने तयारी थालेको छ । स्वाप रेसियो निर्धारण गर्ने अधिकार समेत समितिलाई दिईएको छ ।
नेपाल बङ्गलादेश बैंकमा आईएफआईसी बैंकको ४१.९१ प्रतिशत शेयर रहेको छ । एनबी बैंकको बङ्गलादेशी साझेदार आईएफआईसीको शेयर विनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गर्ने तयारी भएसँगै नविल एनबी मर्जर अघि बढेको हो । एनबी बैंकमा रहेको बङ्गलादेशको आईएफईसीको शेयर विनोद चौधरीले किन्ने पक्का भएपछि मर्जरले अन्तिम रूप पाउन लागेको हो ।
गत साता मात्र एनबी बैंकको साझेदार बङ्गाली लगानीकर्ताका प्रतिनिधि, सीईओ ज्ञानेन्द्र ढुङ्गाना र चौधरी ग्रुपका प्रतिनिधिसहित बसेर बङ्गलादेशको राजधानी ढाकामा छलफल भएको थियो । एनबिमा रहेको बङ्गलादेशको आईएफआईसी बैंकको सेयर खरिदमा चौधरीले एक वर्ष अगाडिदेखि चासो दिएका थिए ।













