प्रभु बैंकका सीईओ शेरचनको वार्षिक आम्दानी साढे ३ करोड रुपैयाँ, सञ्चालकको कति ?
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनको वार्षिक आम्दानी ३ करोड रुपैयाँ भन्दा बढी रहेको छ । बैंकका सीईओ शेरचनले गत आर्थिक बर्ष २०७७–७८ मा ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ बुझेका छन् । जसमा तलव तथा भत्ता वापत २ करोड ७४ लाख ९३ हजार रुपैयाँ, कर्मचारी वोनस ४१ लाख ६५ हजार रुपैयाँ र दशैं तथा विदा वापत भत्ता ३७ लाख ३६ हजार रुपैयाँ गरी ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ बुझेका हुन् ।
सीईओ शेरचनले गत आर्थिक बर्ष २०७६–०७७ मा ३ करोड ४२ लाख ३० हजार रुपैयाँ तलब बुझेका थिए । जसमा तलव तथा भत्ता वापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ, कर्मचारी वोनस वापत ४८ लाख ७० हजार रुपैयाँ र दशैं तथा बिदा वापत भत्ता ३५ लाख ६८ हजार रुपैयाँ गरी ३ करोड ४२ लाख रुपैयाँ तलव तथा भत्ता वापत बुझेका थिए ।
त्यस्तै, अन्य पदाधिकारीहरुले गत आर्थिक बर्ष २०७७–७८ मा तलव तथा भत्ता वापत ३ करोड २४ लाख ९६ हजार रुपैया, कर्मचारी वोनस वापत ४८ लाख २९ हजार रुपैयाँ र दशैं तथा बिदा वापत भत्ता ३५ लाख ७० हजार रुपैयाँ गरी कूल ४ करोड ८ लाख ९५ हजार रुपैयाँ बुझेका छन् ।
सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षलाई १२ हजार रुपैयाँ र सञ्चालक सदस्यहरुलाई १० हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ । त्यसैगरी उपसमितिमा सहभागी सञ्चालक समितिका सदस्यहरुलाई १० हजार रुपैयाँका दरले बठैक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस बाहेक सञ्चालक समितिका अध्यक्षलाई टेलिफोन, मोवाइल तथा पत्रपत्रिका खर्चवापत प्रतिमहिना ११ हजार रुपैयाँ र सञ्चालक सदस्यहरुलाई प्रति महिना १० हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ । समीक्षा अवधिमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन खर्चवापत ४३ लाख ६१ हजार रुपैयाँ प्रदान गरिएको छ ।














