नयाँ उद्योग राजधानी केन्द्रित, प्रदुषण फैलाउने उद्योग दर्तालाई रोक - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नयाँ उद्योग राजधानी केन्द्रित, प्रदुषण फैलाउने उद्योग दर्तालाई रोक



मानमति पन्त

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट उद्योग विस्थापन गर्ने नीति लिए पनि लगानीकर्ताको आकर्षण भने यसै क्षेत्रमा बढी देखिएको छ । पछिल्लो ५ वर्षमा मुलुकमा दर्ता भएका उद्योगमध्ये अधिकांश काठमाडौं केन्द्रित रहेको उद्योग विभागको तथ्याकंले देखाउछ । सरकारले लगभग ५ बर्ष अघि काठमाडौं उपत्यका भित्रका औद्योगिक क्षेत्रहरूलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको थियो ।

उद्योग विभागका सुचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार स्वदेशी तथा विदेशी लगानीका अधिकांश उद्योगको रोजाइमा काठमाडौं नै पर्ने गरेको बताए । देशको राजधानी, पूर्वाधार, बजार र सुरक्षाका दृष्टिले अरू जिल्लाका तुलनामा काठमाडौं उचित भएको भन्दै नयाँ उद्योगहरू यस क्षेत्रतर्फ केन्द्रित भएका हुनसक्ने उनले अनुमान गरेका छन् ।

त्यसमा पनि काठमाडौं उपत्यकामा उद्योग दर्ता हुनु स्वभाविक मान्नु पर्ने उनले जानकारी दिए । तर सरकारले रोकेका उद्योगहरु काठमाडौंमा दर्ता नभएको बताए । जसमा गलैचाँ बनाउने लगायतका प्रदुषण फैलाउने किसिमका उद्योगहरु अहिले काठमाडौं क्षेत्रमा दर्ता गर्न अनुमति नदिएको पराजुलीले जानकारी दिए ।

विभागको तथ्याकं अनुसार चालू आर्थिक वर्ष पुस १८ गतेसम्म १२६ उद्योगका लागि वैदेशिक लगानी स्विकृत गरेको छ । तर काठमाडौंमा सबैभन्दा बढी ७४ उद्योगका लागि वैदेशिक लगानी स्वीकृत गरेको छ । चालू आवमै भक्तपूर २८, ललितपूर ९, काभ्रे ५, कास्की ३, बारा १, पर्सा २, रोल्पा १, म्याग्दी १, धादिङ १, वर्दिया १ उद्योगको लागि वैदेशिक लगानी स्वीकृत गरेको छ ।

उत्पादनमूलक उद्योगका लागि बजार तथा श्रमिक पर्याप्त पाइनुका साथै सुरक्षाका हिसाबले काठमाडौंमा वैदेशिक लगानीकर्ता आकर्षित भएका हुन सक्ने उनले बताएका छन् ।

आर्थिक बर्ष २०७४/७५ को साउन देखि पुस १८ गतेसम्म काठमाडौंमा ८४ उद्योगको लागि वैदेशिक लगानी स्वीकृत स्वीकृत गरेको छ । त्यस्तै सोही अवधी २०७५/७६ मा १०६ उद्योग, २०७६/७७ मा ९६ उद्योग, २०७७/७८ मा १०२ उद्योग र २०७८/७९ मा ७४ उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको छ ।

होटेल र रेस्टुरेन्ट, रेडिमेड गारमेन्ट उत्पादन संचालन गर्ने, सफ्टवयर विकास गर्ने, विज्ञापन सेवा गर्ने उद्योग, कन्सट्रक्सन सेवा उद्योग, कन्सल्टेन्सी तथा लगानी कम्पनीहरूमा लगानी बढ्दो क्रममा छ । विदेशीले लगानी गर्न खोज्दा नीति, श्रम ऐन, औद्योगिक ऐन तथा राजनीतिक अवस्था सबै विचार गरेर अघि बढेको हुन्छ ।

काठमाडौंमा ८ करोड ५० हजार रुपैयाँ लगानीमा इलेक्ट्रोनिक उपकरण मर्मतका लागि चालु आवमा पहिलो वैदेशिक लगानी स्वीकृत गरेको थियो भने त्यस्तै अन्तर्राष्ट्रिय कार्गो ह्यान्डलिङ्ग सेवा उद्योगका लागि १० करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस अवधिमा सबै भन्दा बढी होटेल तथा रेस्टुरेन्टका लागि चिनबाट लगानी स्वीकृतको प्रतिवद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्