सिभिल बैंकका सीईओको एक बर्षको तलब १ करोड १४ लाख रुपैयाँ
काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक आम्दानी १ करोड १४ लाख रुपैयाँ रहेको । सिभिल बैंकले गत आर्थिक बर्ष २०७७–७८ मा सीईओलाई १ करोड १४ लाख ९१ हजार ८७८ रुपैयाँ तलब तथा भत्ता वापत भुक्तानी गरेको छ । यो रकम बैंकका पूर्व सीईओ गोविन्द गुरूङले बुझेका हुन् । तर अहिले बैंकको सीईओमा सुनिल पोखरेल कार्यरत रहेका छन् ।
बैंकको वार्षिक प्रतिवेदन अनुसार, सीईओलाई तलब बापत ५४ लाख १९ हजार, भत्ता वापत ३० लाख ८७ हजार, दशैं खर्च वापत ७ लाख ६७ हजार, संचय कोष वापत ५ लाख ४१ हजार र बोनस वापत १६ लाख ७४ हजार रुपैयाँ गरी १ करोड १४ लाख रुपैयाँ बुझेका हुन् ।
त्यस्तै, बैंकले गत आर्थिक बर्षको अन्तिमसम्मा अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापकहरुलाई तलब वापत ५ करोड ८८ लाख, भत्ता वापत ४ करोड ४७ लाख, दशैं खर्च वापत ६७ लाख, संचय कोषवापत ५ लाख ८८ हजार र बोनसवापत १ करोड ३९ लाख रुपैयाँ गरी १२ करोड ४८ लाख ३९ हजार ९८० रुपैयाँ भुक्तानी गरेको छ ।
लेखापरीक्षण समितिका संचालक सदस्यलाई बैठक भत्ता संचालक समितिको बैठकमा उपस्थित भए वापत प्रदान गरिने भत्ता बराबरको भत्ता प्रदान गरिएको र अन्य कुनै सुविधा प्रदान गरिएको छैन् । आ.व. २०७७–०७८ मा समितिको बैठक १६ पटक बसेवापत बैठक भत्ता ३ लाख १६ हजार रुपैयाँ प्रदान गरिएको छ ।
संचालकहरुले संचालक समितिको वैठकमा उपस्थित भए बापत प्रतिबैठक संचालक समितिका अध्यक्षले १६ हजार रुपैयाँ र संचालकहरुले १३ हजार रुपैयाँ बैठक भत्ता प्रदान गर्ने गरिएको छ । साथै अध्यक्ष तथा संचालकहरुलाई पत्रपत्रिका तथा टेलिफोन–मोबाईल भत्ता बापत एकमुष्ट १३ हजार रुपैयाँ प्रति महिना प्रदान गर्ने गरिएको छ ।
बैंकको आर्थिक बर्ष २०७६–७७ मा १ अर्ब ४ करोड ७ लाख ८६ हजार रुपैयाँ र आर्थिक बर्ष २०७७–७८ मा १ अर्ब ९ करोड ८९ लाख १३ हजार रुपैयाँ कर्मचारीलाई वितरण गरेको छ । त्यस्तै, आर्थिक बर्ष २०७६–७७ मा कार्यालय सञ्चालन खर्च वापत ६९ करोड १५ लाख २३ हजार रुपैयाँ र आर्थिक बर्ष २०७७–७८मा ६९ करोड ३३ लाख ३० हजार रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेको छ ।














