मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।
यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेट को प्रयोग गर्न सक्नेछन । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।
यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताए । सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।
मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्डस्ट्री डाँटा सेक्युरिटी स्ट्यान्डर्डको नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप सुरक्षित द्यबअप(भलम प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार, मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले युनिफाइड क्युआर पेमेन्टको समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले अलिपे, नेपाल पे, युनियन पे, भिजा जस्ता विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत स्क्यान र पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।
मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड पोइन्टहरू प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड पोइन्टहरू पछि मोको को सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडिम गर्न समेत प्रयोग गर्न सकिन्छ । मोको एप गुगल प्ले स्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।













