७ श्रावण २०८३, बिहिबार

एनबि बैंकमा रहेको आईएफआईसीको शेयर चौधरीलाई नबेच्न अदालतको आदेश



काठमाडौं । नेपाल बङ्गलादेश (एनबि) बैंकमा रहेको आईएफआईसी बैंकको शेयर खरिदबिक्री प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पौष २७ गते आदेश दिँदै ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनिएको छ ।

त्यस्तै, अदालतले ७ दिनभित्रमा विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आदेश किन जारी हुनु नपर्ने हो ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अदालतले दिएको उक्त आदेश दुगड समूहले राष्ट्र बैंकलाई पनि जानकारी गराई सकेको छ । ‘नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ,’ आदेशमा भनिएको छ ।

नेपाल बङ्गलादेश बैंकल (विपक्षी) बाट लिखित जबाफ प्राप्त नभएसम्म शेयर अन्य ब्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउनु विपक्षीका नाममा आदेश समेत जारी गरिएको छ ।

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ पाटन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर र राष्ट्र बैंकको नियमन विभागमा उजुरी दिएका थिए ।

बङ्गलादेश बैङ्कको रणनीतिक साझेदार आईएफआईसि बैङ्कले आफ्नो स्वामित्वको ४२ प्रतिशत शेयर बिक्री गर्दैछ । उक्त शेयर उद्योगपति विनोद चौधरीले किन्ने सहमति भएको छ । तर आईएफआइसी बैंकले ९ महिनाअघि दुगड समूहलाई बिक्री गर्ने सम्झौत गरेको थियो । शुरुमा आफूलाई बिक्री गर्ने सम्झौता गरेको तर अहिले आएर अर्कै समूहलाई बेच्ने गरी प्रक्रिया अगाडि बढाएको भन्दै दुगड समूहले मुद्धा हालेको हो । दुगड समहूले उक्त सम्झौता गैरकानुनी भएको दाबी गरेको छ ।

सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर शेयर खरिदका लागि आईएफआईसीसँग सम्झौता गरेका थिए । आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर शेयर प्रतिकित्ता १५७ रुपैयाँमा विक्री गर्न सहमत गरेको थियो । आईएफआईसीले एनबी बैंकमा रहेको प्रमोटर शेयर विक्री गरेर ६ अर्ब रुपैयाँ प्राप्त गर्ने सम्झौता भएको थियो । गत अप्रिल २ मा दुबै समूहबीच हस्ताक्षर भएको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्