७ श्रावण २०८३, बिहिबार

नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात नबिल बैकको आकार यस्तो बन्नेछ



काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै बैंकले संयुक्त मर्जर–एक्विजिसन सम्बन्धी समिति गठन गरेका थिए । उक्त समितिले सिफारिश गरेबमोजिम पौष २९ गते सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकले एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेको थियो ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी र सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए । नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर–एक्विजिसन कमिटि बनेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात कायम गरिएको छ । उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाइ समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।

सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदय कृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरुको दिर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेको बताईएको छ ।

प्राप्तिपश्चात नबिल बैंक बाणिज्य बैंकहरुमा सबै सुचकांक हरुमा अग्रणी हुने विश्वास लिएको छ । बैकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच मर्जर सम्वन्धि भएको सम्झौता सञ्चालक समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराईसकेको बताएको छ । त्यसैले नेप्सेमा दुवै बैंकको शेयर कारोबार मर्जरअवधिसम्मका लागि बन्द हुनेछ ।

मर्जरपश्चात यस्तो बन्ने छ बैंक

नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपश्चात बैकको प्राथमिक पुजी ४३ अर्ब रुपैयाँ, चुक्ता पूँजी २२.५ अर्ब रुपैयाँ, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४ अर्ब रुपैयाँ, गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब रुपैयाँ माथी हुने बताएको छ ।

शाखा संजाल २३५ वटा पुग्नेछन् भने ग्राहक संख्या १६ लाख भन्दा धेरै हुने छन् । नबिल बैंकले दिगो बैकिङ्ग लाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यावसायलाई अघि बढाएको छ भने डिजीटल बैकिङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघी बढाउदै लिएको छ ।


प्रतिक्रिया दिनुहोस्