राष्ट्रिय वाणिज्य बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, ३३ प्रतिशत लाभांश पारित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत सहित) पारित गरेको छ । बैंकको हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन आउने २ अर्ब २७ करोड रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको हो ।
बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैंया हुने छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सभाले आव २०७७–०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभा सम्पन्न भएको हो । अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । उनले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित सेवा दिनुपर्ने बताए ।
साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीहरु डमरु वल्ल्भ घिमिरे, रामगोपाल श्रैष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गरेका थिए । साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण रारेका थिए । अध्यक्ष डा.बलराम पाठकले टिप्पणी एवं जिज्ञासाबारे जवाफ दिएका थिए ।
समितिका सदस्यहरु केदारनाथ शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेलको उपस्थिति रहेको थियो ।
साधारण सभामा महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।













