मदिरा कारोबारी अग्रवाल दाजुभाई कर्जा नतिरी भागेपछि मेगा बैङ्कले जग्गा लिलाम गर्ने प्रक्रिया अघि बढायो
काठमाडौं । काठमाडौँका कुलिन बर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल फरार छन् । मेगा बैङ्कले कलङ्कीका विभिन्न जग्गा राखेर उनीहरूलाई २५ करोड कर्जा दिएको थियो ।
डिस्टिलरी खोल्न भन्दै विभिन्न समयमा दिएका कर्जाको व्याज नतिरेपछि मेगा बैङ्कले उनीहरूको धितो लिलाम गर्न लागेको हो । बैङ्कले बुधवार एक सूचना प्रकाशन गरी माघ २० गतेसम्म सम्पूर्ण कर्जा तिर्न समय दिएको छ । यदि समय अवधिमा कर्जा नतिरेमा बैङ्कले लिलाम बोलपत्र माघ १९ गतेसम्म दिन सकिने र बोलपत्र माघ २० गते खोलिने जनाएको छ ।
कलङ्की मालपोत कार्यालय अन्तर्गत रहेको जग्गा मेगा बैङ्कले लिलाम गर्ने भएको छ । बैङ्कले एलायन्स डिस्ट्रिब्युटर्स प्रालिको नाममा चार कित्ता १०३ वर्ग मिटर, १५७ वर्ग मिटर, २७८ वर्ग मिटर र १५८ वर्ग मिटरका जग्गा लिलाम गर्ने जनाएको छ ।
यसअघि नेपाल इन्भेस्टमेन्ट बैङ्कले पनि अग्रवाल दाजुभाइले सञ्चालन गर्दै आएको ग्रिनलाइन सेन्टर दरबार मार्गमा ताला लगाएको छ । इन्भेस्टमेन्ट बैङ्कले कर्जा तिर्न ताकेता गरेसँगै मेगा बैङ्कले पनि लिलामी प्रक्रिया अघि बढाएको छ ।
अग्रवाल दाजुभाइको मेगा, इन्भेस्टमेन्ट बैङ्क, ग्लोबल आइएमई बैङ्क र एभरेस्ट बैङ्कको नाममा १ अर्बभन्दा बढी कर्जा तिर्न बाँकी छ । त्यस्तै विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको ऋणको कुनै रेकर्ड नै छ ।













