बैंकको कर्जा प्रणालीमा नै प्रश्न, एउटा मदिरा पसलेलाई कसरी पत्याए बैङ्कहरूले बिनाधितो १ अर्ब ? « Arthapath.com
३ माघ २०७८, सोमबार

बैंकको कर्जा प्रणालीमा नै प्रश्न, एउटा मदिरा पसलेलाई कसरी पत्याए बैङ्कहरूले बिनाधितो १ अर्ब ?



काठमाडौँ । काठमाडौंको मुटु दरबारमार्गको एउटा मदिरा पसलेलाई बैङ्कहरूले आँखा चिम्लेर गरेको लगानीले अहिले आफैलाई गलपासो भएको छ । राजधानीका कुलिन वर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक अन्ततः आफै फरार हुन पुगेपछि बैङ्कहरू फन्दामा परेका हुन् । 

दैनिक विदेशी मदिराको ठुलो कारोबार हुने ग्रीनलाइन सेन्टरका सञ्चालक द्वय आफै फरार बन्न पुगेका छन् ।  सानदार रूपमा मदिरा बेच्दै आएका ग्रीनलाइनका संचालकद्वय अभिषेक अग्रवाल र अमित अग्रवाल अहिले फरार छन् । बैङ्कको साँवा र व्याज तिर्न नसकेपछि नेपाल इन्भेष्टमेन्ट बैङ्कले गत पुस २१ गते ग्रीनलाइनमा ताला लगाएपछि अग्रवाल दाजुभाई साथी भाईसंग लिएको मिटर व्याजको ऋण तिर्न नसकेर फरार भएका हुन् । 

२२ वर्ष देखी दरबार मार्गमा महँगो भाडामा महँगा रक्सी बेच्दै आएका उनीहरू डिस्टिलरी खोल्न लाग्दा कारोबार बिग्रिएको एक बैंकरले बताए । डिस्टिलरी दर्ता गरेर सञ्चालनमा ल्याउँदा बैङ्कबाट लिएको कर्जाले नपुगेर थुप्रै पैसा मिटर व्याज ऋण लिएका थिए । सो पैसा तिर्न नसकेर अग्रवाल परिवार अहिले विलखबन्दनमा परेको छ । 

सामान्यतः व्यक्तिगत जमानीमा यती ठुलो रकम कर्जा दिँदा बैङ्कहरूसमेत समस्यामा परेका छन् । एक बैङ्कका सीईओले भने मेरो पनि ३० करोडभन्दा माथि कर्जा छ, धितो भने रक्सी पसल र साँढे ३ करोडको जग्गा छ । पैसा सबै उठ्न गाह्रो पर्ने ती बैंकरले बताए । 

आफूसँग ऋण तिर्ने मनसाय नभएको होइन तर अवस्था नै नाजुक भएको भन्दै उनीहरू फरार बनेका छन् । बैङ्कहरूले कुनै अन्दाज नै नगरी एउटा रक्सी पसलेलाई करोडौँ कर्जा दिनु नै गलत भएको एक बैंकरले बताए । बैङ्कहरूको कर्जा प्रणालीमै सुधार जरुरी रहेको भन्दै ती बैंकरले भने स्टिममा सुधार जरुरी रहेको बताए । 

ग्रीनलाइनले नेपाल इन्भेस्टमेन्ट बैङ्कको ३२ करोड, मेगा बैङ्कको २५ करोड, एभरेस्टको  २२ करोड, ग्लोबल आइएमइ बैङ्कको १८ करोड कर्जा तिर्न बाँकी रहेको छ । यसमा केही बैङ्कको २० प्रतिसतदेखि ७० प्रतिसतसम्म धितो भए पनि बाँकी रकम उठ्ने छाँट छैन । उनिहरुले बजारबाट लिएको मिटर व्याजनै डेढ अर्वभन्दा बढी रहेको स्रोतको दावी छ ।


प्रतिक्रिया दिनुहोस्