एकै दिन २४ अर्बले घट्यो निक्षेप संकलन
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एकै दिन २४ अर्ब रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ १० गते बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन २४ अर्ब रुपैयाँले घटेको हो । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ४८ खर्ब ५२ अर्ब रुपैयाँमा सिमित भएको छ । गत माघ ९ गतेसम्म ४८ खर्ब ७६ अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका थिए ।
याता वाणिज्य बैंकहरुको निक्षेप एकै दिन १७ अर्ब रुपैयाँ घटेको छ । माघ ९ गते ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले माघ १० गतेसम्म घटेर ४२ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । गत माघ ९ गतेसम्म ४६ खर्ब ६५ अर्ब रुपैयाँ कुल कर्जा लगानी गरेकोमा माघ १० गतेसम्म २ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने एकै दिन ३ अर्ब रुपैयाँ बढेको हो । गत माघ ९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ गरेकोमा बढेर माघ १० गतेसम्म ४१ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो बढेर ९०.५७ प्रतिशत पुगेको छ । माघ ९ गते सीडी रेसियो ९०.११ प्रतिशत रहेको थियो । अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ ।














