उद्योग दर्ता गर्ने बढे, १ महिनामा १४ जिल्लामा उद्योग दर्ता
काठमाडौं । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को माघ महिनाको तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आवको माघ महिनामा १६ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालु आवको सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर २४ पुगेको छ । विभागका अनुसार एक महिनालाई मात्र तुलना गरेर हर्ने हो भने उद्योग दर्ता संख्या गत आव भन्दा बढेको नै देखाउँछ ।
उद्योगले दिने रोजगारी पनि झण्डै पाँच गुणाले बढेको छ । गत आवको माघ महिनामा उद्योग स्थापनाबाट ६१६ जनालाई रोजगार भएकोमा चालु आवको सोही अवधिमा ३ हजार १७६ जनाले रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ ।
आर्थिक बर्ष २०७८/७९ को माघ महिनामा उद्योग विभागमा १४ जिल्लामा उद्योग दर्ता भएका छन् । चितवन, कन्चनपुर, काठमाडौं, पर्सा, मोरङ, म्याग्दि, काभ्रे, रुपेन्देही, धादिङ, मकवानपुर, ललितपुर, दाङ, धनुषा र स्याङ्जामा नयाँ उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख रहेको छ । जसमा काठमाडौंमा ५ वटा उद्योग, पर्सा र म्याग्दिमा २ वटा उद्योग, मोरङमा ३ वटा उद्योग दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको माघ महिनामा ३ ठूला, ११ मझौला र १० साना उद्योग दर्ता भएका विभागले जनाएको छ । मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको विभागले जानकारी दिएको छ ।
विभागबाट विदेशी लगानीको स्वीकृति लिने चालु आवको माघ महिनामा ७ वटा उद्योग रहेका छन् । जसमा ६ उद्योगमा चीनले र एक उद्योगमा भारतले लगानी प्रतिवद्धता जनाएको छ । जसमा ५ वटा सेवा, एक वटा निमार्ण र एक वटा पर्यटन गरी साना उद्योगको लागि ५३ करोड ९५ हजार लगानी प्रतिवद्धता जनाएको छ ।
















