१ कार्तिक २०८३, आइतबार

नेपालमा पेट्रोलियमको मूल्य बढ्ने संकेत, आईओसीले बढायो भाउ



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ । डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार/चार रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर सय रुपैयाँले बढेर नयाँ मूल्य आएको नेपाल आयल निगमले जनाएको छ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमै मूल्य बढिरहेकाले नेपालमा पनि मूल्य बढाउनुको विकल्प नभएको संकेत गरिएको छ। बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा जाने जानकारी दिएको छ। मूल्य नबढाए आईओसीलाई इन्धनको पैसा तिर्न नसक्ने निगमले बताएको छ।

१५ दिन अगाडिको मूल्यअनुसार पेट्रोलमा १६.५९, डिजेल र मट्टीतेलमा १२.५८ रुपैयाँ घाटा रहेको निगमको दाबी छ। अब पेट्रोलमा प्रतिलिटर घाटा २०.५२ र १६.८ रुपैयाँ पुगेको निगमको भनाइ छ। खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर घाटा ५ सय ६५ बाट ६ सय ६५ रुपैयाँ पुगेको निगमले जनाएको छ। रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेको छ। त्यसको प्रभाव नेपालमा पनि परेको हो। पछिल्लो समय निगमले धेरैपटक मूल्य बढाइसकेको छ। अहिले पेट्रोलमा १ सय ४५ र डिजेल, १ सय २८ रुपैयाँमा बिक्री गर्दै आएको छ।