एचआइडिसिएलको लिलामी सेयर किन्ने कि नकिन्ने ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एचआइडिसिएलको लिलामी सेयर किन्ने कि नकिन्ने ?



हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ३ करोड ३० लाख कित्ता सेयर लिलामी राखिएको छ । जसका बारेमा लगानीकर्ताले चासो देखाएर विभिन्न माध्यमबाट सोधिएका प्रश्नहरुको जवाफ राष्ट्रिय आर्थिक साप्ताहिक ‘सेयर बजार’ पत्रिकाका प्रकाशक तथा सम्पादक दिनेश आचार्यले एकमुष्ट दिएका छन् ।

१. यो साधारण नभै संस्थापक सेयर हो । हकप्रद निष्काशनमा सरकारी संस्थाहरू नागरिक लगानी कोष, बीमा संस्थान र कर्मचारी सञ्चय कोषले हाल्न अस्वीकार गरेपछि बिक्री नभएको सेयर लिलामी गरिएको हो ।

२. अहिले लिलामीको क्रममा संस्थापक सेयरलाई साधारण सेयरसरह कारोबार गराउने भनिएको छ । तर, यो प्रमोटर सेयर भएकाले तत्काल त्यो सम्भावना देखिन्न । र, यसको कारोबार कुनरुपमा हुने भनेर कम्पनीले प्रष्ट जानकारी दिएको पनि छैन ।

३. बजारमा सहज कारोबारका लागि तीन विकल्पदेखिएको छ:

क. संस्थापक सेयरकै रुपमा HIDCLPO कोडमा कारोबार गराउने । यसमा पुनः सूचीकरण, कोड क्रियसनलगायतका लामो प्रक्रिया छ ।
ख. संस्थापक सेयरलाई साधारणसभामार्फत कन्भर्ट गरेर साधारण बनाउने र साधारण सेयर कैरुपमा कारोबार गराउने ।
ग. यो हाइड्रोपावर कम्पनीको जस्तो ३ वर्षे लकिब पिरिएड सकिएर अटोमेटिकरुपमा कन्भर्ट भएर कारोबार हुने कम्पनी यो हैन । यसको सेयर कन्भर्टका लागि नियामक नभएका कारण यसमा धितोपत्र बोर्डले छुट्टै विधि बनाएर निर्णय गर्नुपर्ने हुन्छ ।

४. यसको कम्भर्टको लागि विधि प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यो अर्को साधारणसभामा लैजानुपर्ने हुन्छ । धेरैले यो हाइड्रोपावर कम्पनी नै सोचेका छन् तर, यो अन्य समूहमा सूचीकृत इन्भेस्टमेन्ट कम्पनी भएका कारण यसबारे विशेष निर्णय हुनुपर्ने हुन्छ ।

५. यसलाई भर्खरै राष्ट्र बैंकले गैरवित्तीय संस्थाकोरुपमा मान्यता दिएको हुनाले यसलाई राष्ट्र बैंकले पनि नियमन गर्छ । अब यसको सेयर कन्भर्टमा राष्ट्र बैंकको नियमन लागू भएमा झनै झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने हुन्छ ।

६. यसको लिलाम प्रक्रिया र बजारमा चलेको चर्चाबारे धितोपत्र बोर्डमा पनि धेरै गुनासो परेको बुझिएको छ । यसर्थ, बोर्डले यसबारे अध्ययन गर्न कागजातसमेत मागेको थियो । सायद हिजो नै लिलाम प्रक्रिया रोक्ने निर्णय गरिएको छ । यसबारे सूचना आउला नै ।

७. सरकारी संस्थाले (जसको कस्ट अफ फन्ड निकै सस्तो छ) समेत नहालेको सेयर अहिले लगानीकर्ताले १५% ब्याजमा लिएको कर्जा रकम हालेर किन्नु कति उपयुक्त होला ? यसको दोस्रो बजारमा कारोबारको प्रक्रिया कम्पनीले समेत प्रष्ट नपारेको सन्दर्भमा लगानी गर्नु उपयुक्त नहोला कि ?

८. संस्थापक सेयर लिलाम गर्दा यसको हस्तान्तरण प्रक्रियाबारे समेत कम्पनीहरूले पहिल्यै प्रष्ट पार्नुपर्छ । नत्र बजारमा अनेक ¥यूमर फैलिएर सोझा लगानीकर्ताहरू लोभमा फस्न सक्छन् । साथै, धितोपत्र बोर्डले लिलाम स्वीकृति दिनुपूर्व यसबारे निर्णय दिनुपर्ने हुन्छ, त्यो गरेको छैन । यसर्थ, बोर्डले चाँडै गरोस् ।

९. लगानीकर्ताहरूले लिलामीको यस्तो सेयर भर्नु अगाडि कम्पनीसँग प्रष्ट कानुनी प्रक्रियाबारे जानकारी लिएर मात्र लगानी गर्नुहोला । अन्यथा भोलि फेरि त्यसैका लागि अनशन बस्नुपर्ने दिन नआओस् ।


प्रतिक्रिया दिनुहोस्