आयल निगम र सरकारको चेपुवामा यातायात व्यवसायी, निगमको अर्ब र खर्ब घाटा कहिल्यै सकिने भएन : महासचिव सिटौला
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिले आयल निगम र सरकारको चेपुवामा यातायात व्यवसायी परेको बताएका छन् । आयल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको र यातायात व्यवसायीको गाडी भाडा समायोजनमा भने आलटाल गरिरहेको व्यवसायीले आरोप लगाएका छन् ।
बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए गाडी भाडा आफैं बढाउने महासंघका महासचिव सरोज सिटौलाले चेतावनी दिएका छन् ।
बढेको मूल्य सरकारले फागुन २५ गतेसम्म फिर्ता नलिए आफैं गाडी भाडा बढाउने बताएका हुन् । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।
‘गाडी भाडा बढ्दैन, पेट्रोलको भाउ भने बढेको बढ्यै गर्छ,’ महासचिव सिटौलाले भने‚ ‘हामी अब धान्न सक्दैनौँ, सहन सक्दैनौँ। सरकारलाई २५ गतेसम्म मूल्यबृद्धि फिर्ता गर्ने वा भाडा समायोजन नगरे आफैं बढाउँछौं।’
महासंघले यातायात विभाग, आयल निगम, अर्थमन्त्रालयलाई पटक पटक पत्र दिदाँ पनि त्यसको कदर नगरेको सिटौलाले आरोप लगाएका छन् । उनले भने पेट्रोलियम पदार्थको विकल्प खोज्नु होस्, नभए आयल निगमले देश सक्ने भयो भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आयल निगमको अर्ब र खर्ब घाटा कहिल्यै सकिने भएन । पानीले गाडी चल्ने प्रविधि छैन । सिटौलाले भने, सरकारले वैज्ञानिक भाडा समायोजन गरिदिनु पर्छ । त्यसपछि यातायात व्यवसायी पनि आफ्नो गरि खान्छन् ।
नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ तोकिएको छ।
यस्तै‚ हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। एलपिजी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँ छ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई एक महिनामा नै अर्बौं रुपैयाँ घाटा हुने भन्दै निगमले मूल्य बढाएको हो।













