अर्थतन्त्र चलायमान बनाउन अस्पष्ट सरकारी नीति, योजनाका कारण उद्योग देखि वित्तीय क्षेत्र संकटग्रस्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थतन्त्र चलायमान बनाउन अस्पष्ट सरकारी नीति, योजनाका कारण उद्योग देखि वित्तीय क्षेत्र संकटग्रस्त



काठमाडौं । मुलुकको अर्थतन्त्र जर्जर बन्दै गएको चौतर्फी महसुस गरिएको छ । देशको अर्थतन्त्र चलायमान बनाउन अस्पष्ट सरकारी नीति, योजनाका कारण उद्योग देखि वित्तीय क्षेत्र संकटग्रस्त बन्न थालेको छ । लगानी बढी र निक्षेप कम रहेको भन्दै बैंकले तरलता अभाव देखाउँदै कर्जा प्रवाह रोकेको छ भने व्याजलाई चर्काउँदै लगेको छ । उद्योग, व्यापार व्यवसायको लागि अनुकूल स्थिति हुनुपर्नेमा विभिन्न कारणले भयावह स्थितिको सिर्जना हुँदै जाँदा पनि सरोकारवाला निकाय समस्या निरुपणमा खासै उत्साहित देखिएका छैनन् ।

बैंक तथा वित्तिय संस्थामा तरलता अभावका कारण उद्योग, व्यवसाय लगायतको क्षेत्रमा व्यापक असर परेको छ । व्यापार, व्यवसायको संचालनमा कठिनाई दिनानुदिन बढ्दो छ । यसको अभावलाई समयमा नै सम्बोधन गर्न नसके आउँदा दिनहरुमा आर्थिक सुचकांक अझ ओरालो लाग्ने निश्चित झैं बनेको छ । तरलता अभावका कारण नयाँ उद्योगहरु स्थापना हुन नसक्नु, बैंकले लगानी र ऋण रोक्दा भएका उद्योगहरु पनि कच्चा पदार्थको अभावका कारण संचालन हुन कठिन बन्दै गएको छ । तरलता अभावको कारण देशको अर्थतन्त्रमा परिरहेको अवरोधबाट कसरी छुटकारा पाउन सकिन्छ र अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा विराटनगरमा सोमबार मोरंग व्यापार संघको समृद्धि हलमा एकदिने बीजटक अर्थ व्यापार संवाद समृद्धिका लागि विषयक बीज टकको आयोजना गरियो ।

बीज टकमा तरलता अभावले अर्थतन्त्रमा सिर्जना गरेको अवस्था र यसबाट पार पाउने उपायका बारेमा गहन मन्थन, छलफल वाट प्राप्त अमूल्य सुझावलाई समेटी आर्थिक तरलताको अभावसंवाद कार्यक्रमवाट आएका यथार्थपरक समस्या र समाधानका उपायहरुलाई समेटी आगामी दिनमा सरकारका संवन्धित निकायहरुलाई दिशानिर्देश गर्ने अभिप्रायले थालनी गरिएको थियो । सो कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष नविन रिजालले तरलता अभावको कारण देखाउँदै बैंकहरुले ऋण प्रवाह रोकेको, व्याजदरमा वृद्धि गरेको हुँदा उद्योग व्यापार र व्यवसाय संचालन गर्न अप्ठेरो परेको बताए । उनले जनशक्तिको कमी, ब्यांकको मनोमानी र सरकारको अदुरदर्शी नितीका कारण उद्योग, व्यापार र कारोबार क्षेत्र धरासायी बन्दै गएको धारणा व्यक्त गरेका छन् ।

बीजटकमा अर्थशास्त्री डा. भेषप्रसाद धमला, प्राडा पि.के झा र प्राडा वेदराज आचार्यले तरलता अभावको प्रमुख कारण सरकार र नेपाल राष्ट्र बैंकको अदुदर्शी र अस्पष्ट नीति नै जिम्मेवार रहेको धारणा राखे ।

बीजटकमा धारणा राख्दै अर्थशास्त्री डा. भेषप्रसाद धमलाले देशको जनशक्ति विदेश पलायन हुनमा सरकार नै उद्धत रहेको र जनशक्ति अभावका कारण उत्पादनमा असर पुगेको बताए । उनले बैंकको व्याजदर अत्याधिक वृद्धि हुँदा उत्पादनमा समेत असर पुगेको बताए । उनले भने, देशलाई चाहिने आवश्यक जनशक्तिलाई विदेश पलायन हुन बाध्य पारेर देशको विकास हुन सक्दैन ।

दक्ष जनशक्ति विदेश गए केहि सिकेर आउने र त्यहाँको सीप उत्पादकत्व क्षेत्रमा लगाउँदा अर्थतन्त्र चलायमान हुने मद्दत पुग्ने तर अदक्ष र अर्धदक्ष जनशक्ति खाडीको तातोमा श्रम बेचेर पसिना बगाउन बाहेक केहि पनि गर्न नसक्ने बताएका छन् । अर्थशास्त्री डा. धमलाले मोरंग व्यापार संघले बीजटकको आयोजना गरेर एउटा आयामको थालनी गरेको भन्दै यस्ता खाले कार्यक्रमको आयोजनाले नेतृत्ववर्गको लागि मार्गनिर्देशनको काम गर्ने बताए ।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन करको दायरामा कटौती गर्नुपर्ने, नयाँ नयाँ शीर्षक खडा गरेर कर संलकन गर्ने कार्यलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए । अर्थशास्त्री डा. धमलाले नेपालको आधाभन्दा बढी जनसंख्या कृषिमा आधारित रहेकोले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । डा. धमलाले नेपालका लागि आवश्यक पर्र्ने जनशक्तिलाई दक्ष बनाएर वस्तु र सेवाको प्रवाहलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । डा. धमलाले देशको अर्थतन्त्रलाई आयातमुखी नबनाई स्वदेशमा उत्पादन भएका वस्तुलाई निर्यात लायकको बनाएर राजश्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्यानेलिष्ट प्रा.डा. पिके झाले नेपालका आर्थिक निती निर्दयी बन्दै गएको बताए । उनले विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको भन्दै उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । राष्ट्र बैंकपनि बजारमा तरलता अभावमा दोषी रहेको भन्दै राष्ट्र बैंकले तरलता अभावको जवाफदेहिता लिनुपर्ने माग गरे । दिगो विकासको मरुदण्डनै उद्यमशीलता रहेको भन्दै नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै उद्यामशीलतालाई संस्थागत गर्नु पर्ने भने । उनले फुस्रो नारा लगाएर मात्र बजेटको सहि ठाउँमा कार्यान्वयन हुन नसक्ने भन्दै जेका लागि बजेटको घोषणा भएको हो त्यसैमा बजेटको अक्षरसः कार्यान्वयन गर्नुपर्ने बताए ।

प्राडा. झाले उद्योग, व्यापार र व्यसाय क्षेत्र कुन र कस्तो संकटग्रस्त ठाउँमा उभिएको छ भन्ने बारेमा सरकार जानकार नरहेको भन्दै आक्रोश पोखेका छन् । उनले ठूलाभन्दा साना उद्योगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाए उद्यमशीलता स्थापित हुने बताए । उनले उद्यमशीलताले तरलता अभावलाई नियन्त्रण गर्ने भन्दै सरकारले उद्यमशीलता विकासका लागि उद्योग र उद्योगी अनि व्यापार र व्यवसायीको हित हुने गरी निती निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रा.डा.झाले नेपाल राष्ट्र« बैंक पनि उद्योगी व्यवसायीभन्दा बैंकका मनोमानी कारोबारलाई संरक्षण दिन लागीपरेको भन्दै तरलता अभावको समस्या सिर्जना भएको बताए । स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चा पदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनु पर्ने बताए । अर्का पेनलिष्ट प्रा.डा. वेदराज आचार्यले नेपालमै पहिलो पटक मोरंग व्यापार संघले बीजटकको आयोजना गरेर अर्थतन्त्र चलायमान बनाउने विषयमा अर्थशास्त्री समेतको विचार राख्न मञ्च प्रदान गरेको मा संघ प्रति कृतज्ञता आभार व्यक्त गरेका छन् ।

उनले स्वदेशको रकम स्वदेशमा नै परिचालन गर्न स्वदेशमा पाइने कच्चा पदार्थलाई उपयोग गर्र्ने उद्योग स्थापनामा प्राथमिकता दिनु पर्ने बताए । उनले संसारकै गरिब र अति विपन्न मुलुक इथोपीयाले आज विकासोन्मुख राष्ट्रको दर्जा पाइसकेको बताउँदै व्यापक श्रोत र साधन हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरावस्थामा पुग्नु खेदको विषय रहेको बताए । उनले निर्णायकर्ताहरु कमजोर भएको र हित अनुसारको निर्णय लिनुपर्नेमा स्वार्थ अनुकुलको निर्णय लिँदा हालको समस्या उत्पन्न भएको बताए ।

प्रा.डा. आचार्यले देशको हरेक तह र तप्कामा विगत देखिका सरकार संस्थागत सुशासनमा चुकेको बताए । शिक्षा, स्वास्थ्य जस्ता प्रत्यक्ष जनसरोकारका क्षेत्रलाई नियन्त्रण र नियमन गर्न सरकार निरिह बनेको डा.आचार्यले बताए । उनले राजनीति गर्ने व्यक्ति समाजसेवामा प्रतिवद्ध नहुँदा विविध क्षेत्रमा समस्या उब्जिएको बताए । राष्ट्र बैंकको निती र नियमन सही नभएको हुँदा तलरता अभावको समस्या सिर्जना भएको डा .आचार्यले तर्क गरेका छन् । उनले किन, बैंकले अधिकार मात्रै खोज्ने गरेको तर कर्तव्यबाट विमुख बन्दै गएको ? भनी प्रश्न गरेका थिए ।

अर्थतन्त्रको समस्यालाई तत्काल, मध्यकाल र दीर्घकालीन रुपमा नै समाधानका बाटाहरु पहिल्याउनु पर्दछ । दीर्घकालमा हेर्ने हो भने हाम्रो अर्थतन्त्रको प्रमुख समस्या नै उत्पादन र उत्पादकत्व निकै कमजोर हुनु हो । हामीले दीर्घकालीन रुपमा अर्थतन्त्रको समस्या समाधान गर्नु छ भने दुबै बढाउनु पर्ने हुन्छ । त्यसकालागि लगानीको वातावरण तयार गर्न विज्ञ सहितको टोलीवाट निष्पक्ष रुपमा अध्ययन र विश्लेषण गर्दै वास्तविक वस्तुस्थितिको मापन गरी तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरीनु पर्ने धारणा प्रा.डा. आचार्यले राखे ।

उक्त कार्यक्रमलाई संयोजन गर्र्दै डा. सन्देश दास श्रेष्ठले मोरंग व्यापार संघको नेतृत्वमा यस किसिमको कार्यक्रमले सरकारका सरोकारवाला निकायहरुलाई आगामी दिनमा पथप्रदर्शका रुपमा कार्य गर्नुकासाथै हालको मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारलाई समेत घच्घच्याउन मद्दत पुग्ने विश्वास लिएका छन् ।

बीजटकमा संघका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, का.का. सदस्य अमित सारडा लगायतले अर्थ सरोकारका बारेमा प्यानलिष्टसँग विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले, बजारमा तरलता अभाव कम गराउने दिशामा बीजटक फलदायी भएको बताए । यस्तै कार्यक्रमका सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रयासमा रहने संघका युवा उद्यम समितिका संयोजक ओमप्रकाश शर्माले तरलताको अभावबाट देशलाई निकास दिनु पर्ने बताए । उनले बेलैमा ठोस प्रकृया नचालिए देश वित्तिय संकटमा पर्ने बताए ।

सरकारलाई दिशानिर्देश गर्ने गराउने अभिप्रायले बीजटक जस्ता कार्यक्रमको थालनी गरिएको संयोजक शर्माले जानकारी गराए । संघका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा लगायतका पदाधिकारी द्वारा बीज टकका सहभागीहरुलाई मायाको चिनो प्रदान गरियो ।


प्रतिक्रिया दिनुहोस्