१ कार्तिक २०८३, आइतबार

कर छलि गर्ने ३ जना विरुद्ध साढे १६ करोड रुपैयाँ विगोसहित मुद्धा दर्ता



काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने ३ जना बिरुद्ध १६ करोड ४३ लाख ४५ हजार २८२ रुपैयाँ विगा तथा जरिवाना तिराउन मुद्दा दर्ता गरेको छ ।

भक्तपुर सूर्यबिनायक निवासी सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, चितवन कालीका नगरपालिका घर भई हाल काठमाडौं सीतापाइला बस्ने सौगात इन्टरनेशनलका खाता सञ्चालक मोहन भट्टराई र काठमाडौँ लगनटोल निवासी सौगातकै लेखा परीक्षक सुनिलमान शाक्य बिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको हो ।

उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि विजक लिई बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी मु.अ.कर तर्फ क्रेडिट दावी गरी तिर्नु पर्ने मु.अ.कर नितिरेको र आयकर तर्फ लागत खर्च दावी गरी आयकर समेत चुहावट गरेकोले आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको खुलेपछि मुद्दा दर्ता गरिएको हो ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा घ ले निषेधित सोही ऐनको दफा ४ (क) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा २ (छ१) हुन आउने मु.अ.कर तर्फ २ करोड ५२ लाख १४ हजार ३९५ रुपैयाँ र आयक तर्फ ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ, समेत जम्मा हुन आउने कुल विगो ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ दफा २३ (१) बमोजिम प्रतिवादीहरु दिपक कुमार देउजा र मोहन प्रसाद भट्टराईसँग विगो असूल उपर गरी विगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन र सुनिलमान शाक्यको हकमा सोही ऐनको दफा २३ को उपदफा (३) बमोजिम मतियारलाई हुने सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।