११.५८ प्रतिशत लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सको साधारण सभा चैत्र ३० गते, बुकक्लोज कहिले ?
११.५८ प्रतिशत लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सको साधारण सभा चैत्र ३० गते, बुकक्लोज कहिले ?
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत्र २ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत्र १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।














