१० श्रावण २०८३, आइतबार

समयमा भुक्तानी नदिने बीमा कम्पनीले ब्याज दिनुपर्ने

समयमा भुक्तानी नदिने बीमा कम्पनीले ब्याज दिनुपर्ने



काठमाडौं । बीमा समितिले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले बीमा रकमको ब्याज दिनुपर्ने व्यवस्था गर्ने भएको छ ।

बीमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले समयमै दाबी भुक्तानी नदिएमा दिनगन्ती गरेर बीमा रकमको ब्याज समेत दिनुपर्ने व्यवस्था गर्न लागेको बताएका हुन् । अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएका हुन् ।

बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिने बताए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताए ।