अपि पावरले ४० प्रतिशतसम्म लाभांश बाँड्न सक्छ, ढुक्क भएर हकप्रदमा लगानी गरौंः न्यौपाने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडका पूर्व अध्यक्ष तथा संयोजक गुरु प्रसाद न्यौपानेले कम्पनीको हकप्रद शेयरमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । सोमबार हकप्रद शेयर र कम्पनीको भावी योजनाबारे पत्रकार सम्मेलनको आयोजना गर्दै संयोजक न्यौपानेले कम्पनीले चैत्र २५ गतेदेखि जारी गर्ने हकप्रद शेयरमा लगानी गर्न आग्रह गरेका हुन् । कम्पनीको २ सय करोड रुपैयाँ भन्दा बढी वार्षिक आम्दानी रहेकाले लाभांश वितरण क्षमता पनि उच्च रहेको उनले बताए । संयोजक न्यौपानेका अनुसार परियोजना निर्माण सम्पन्न भइसकेपछि कम्पनीले शेयरधनीहरुलाई ४० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता छ ।
कम्पनीले चैत २५ गतेदेखि १०८.६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्दैछ । हकप्रद शेयर निष्कासनपश्चात् शेयरधनीहरुले गरेको लगानीबाट ३२२ करोड रुपैयाँ र बोनस शेयरबाट ६२.४९ करोड रुपैयाँ गरी कम्पनीको पूँजी ३८४.४९ करोड रुपैयाँ पुग्ने संयोजक न्यौपाने बताउँछन् । उनका अनुसार कम्पनीले वार्षिक आम्दानी २१० करोड गर्ने छ । सोही आधारमा कम्पनीको कष्ट अफ फन्ड १० प्रतिशतसम्म रहने र बाँकी लगानीकर्तालाई प्रतिफल दिने उनले बताए ।
साथै उनले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य कम भएकोमा गुनासो गरेका छन् । लगानीकर्तालाई पटक पटक हकप्रद शेयर जारी गरेको र निरन्तर लाभांश वितरण गर्दा पनि शेयर बजारमा मूल्य कम हुनु अस्वभाविक भएको उनले बताए ।
अपि पावर कम्पनी नेपालको विद्युत विकास गर्न २०६० मा स्थापना भई २०७० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिवर्तन भएको थियो । कम्पनीले सुदूरपश्चिम प्रदेशको दार्चुलामा नौगड गाढ जलविद्युत आयोजना २०७२ साल भाद्र २ गतेदेखि सञ्चालन गरिरहेको छ । १६० करोड रुपैयाँ लगानीमा निर्मित नौगड गाढ आयोजनाले वार्षिक २४ करोड रुपैयाँ आम्दानी गरिरहेको छ ।
सोही नदिको माथिल्लो भागमा ८ मेगावाट क्षमताको अपर नौगढ गाढ आयोजना १७० करोड रुपैयाँ लगानीमा निर्माण पुरा गरी २०७६ कार्तिकदेखि विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । उक्त आयोजनाले वार्षिक २० करोड रुपैयाँ आय आर्जन गरिरहेको कम्पनीले जनाएको छ । अपि पावर कम्पनीको तेश्रो जलविद्युत आयोजना अपर चमेलिया ४० मेगावाटको आयोजनाको वि.सं २०७७ साल कार्तिक महिनादेखि निर्माण सुरु भई २०७९ फाल्गुन मसान्तसम्ममा निर्माण पुरा गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । उक्त आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि वार्षिक १६० करोड रुपैयाँ आम्दानी गर्ने कम्पनीको दाबी छ । कम्पनीले सबै विद्युत परियोजनाबाट मात्रै वार्षिक २०० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ ।
कम्पनीले सोलारबाट २८ मेगावाट क्षमताका १० वटा परियोजना छन् । जसमध्ये चपुर (४ मेवा) र ढल्केबर (१ मेवा) को निर्माण पुरा भई सञ्चालनमा रहेका छन् । १ मेगावाट क्षमताको सिमरा सोलार आयोजना आगामी महिनामा निर्माण सम्पन्न गर्ने योजना छ । यता ८ मेवा क्षमताको परवानीपुर आयोजना निर्माणाधीन रहेको छ । यी सोलार आयोजनाहरूबाट कम्पनीले वार्षिक करिव १० करोड रुपैयाँ आय आर्जन गर्ने लक्ष्य रहेको छ ।
अपि पावर कम्पनीले विद्युत आयोजना र कृषि व्यवसायलाई एक अर्काका परिपुरकका रुपमा विकास गर्ने नीति लिएको छ । जलविद्युत र सोलार आयोजनाका लागि खरिद गरिएका तथा लिजमा लिएका जमिनहरुमा विभिन्न कृषि कार्य गरिरहेको छ । जसमध्ये बाख्रा पालन, तरकारी खेती, कफि उत्पादन र बेर्ना वितरण एवम् फलफूलको नर्सरी बनाई बोटविरुवा विकास गर्ने योजना कम्पनीको रहेको छ । जसमध्ये कम्पनीले लटिनाथ कृषि कम्पनी लिमिटेड नामक कम्पनी स्थापना गरि सञ्चालनमा ल्याइसकेको छ ।
जलविद्युत आयोजनाहरुको उत्पादन अनुमति पत्रको समयावधि पुरा भईसकेपछि सरकारमा हस्तान्तरण भई जाने हुँदा अपि पावर कम्पनीले दीर्घकालिन प्रकृतिको (हस्तानतरण भई नजाने) खालका आयोजनाहरु निर्माण गर्नु आवश्यक भएको हँुदा रणनीतिक रुपमा व्यवसायको विविधिकरण गर्न आवश्यक ठानी विविध कामहरु गरिरहेको अपि पावर कम्पनी लिमिटेडका संयोजक गुरु प्रसाद न्यौपानेले बताए । अपि पावर कम्पनीको सुरुको चुक्ता पूँजी १ सय करोड रुपैयाँ रहेको थियो । जसमा वार्षिक मुनाफाबाट बोनस शेयर प्रदान गर्दै हालसम्म बोनस र हकप्रद शेयरबाट संकलित शेयर पुँजी १७५.८९ करोड रुपैयाँ पुगेको न्यौपाने बताउँछन् ।
२०७२ कात्तिक २३ मा धितोपत्र बजारमा सूचीकृत भएको कम्पनीको शेयर बजारमा सूचीकृत भएको थियो । अपि पावर कम्पनीको शेयरमा लगानीकर्ताहरुको संख्या चैत्र १४ गतेसम्म १ लाख ४० हजार रहेका छन् । जसमध्ये अधिकांश साना शेयरधनीहरुको लगानी रहेका छन् ।
कम्पनीले माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि पूाजी जुटाउन २२२ करोड रुपैयाँ मुल्य बराबरको हकप्रद शेयर निस्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले पहिलो हकप्रद शेयरबाट २०७६ फागुनमा ५६.७ करोड रुपैयाँ र दोश्रो पटक २०७८ बैशाखमा ५६.७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेको थियो ।
त्यस्तै, कम्पनीले तेश्रो पटक हकप्रद शेयर जारी गर्ने तयारीमा छ । कम्पनीले चैत २५ गतेदेखि १०८.६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद शेयर निष्कासनपश्चात् शेयरधनीहरुले गरेको लगानीबाट ३२२ करोड रुपैयाँ र बोनस शेयरबाट ६२.४९ करोड रुपैयाँ गरी कम्पनीको पूँजी ३८४.४९ करोड रुपैयाँ पुग्ने संयोजक न्यौपानेले जानकारी दिए । उनका अनुसार कम्पनीले वार्षिक आम्दानी २१० करोड रुपैयाँ गर्ने छ ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्ने भएको हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५.७५ रुपैयाँ पुग्नेछ ।













