७ श्रावण २०८३, बिहिबार

१२ घण्टा विद्युत कटौति गर्ने कार्यकारी निर्देशक घिसिङको भनाई र गराई माथि प्रश्न चिन्ह खडा गर्याे



काठमाडौं । नेपाल विद्युत प्राधिकारणले औद्योगिक क्षेत्रहरुमा गत हप्तादेखि १४ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरेको प्रति उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योगहरु निर्वाध संचालन गर्न अत्यावश्क विद्युतको नियमित आपूर्ति हुनुपर्ने उनीहरुले माग गरेका छन् । तर भारतबाट विद्युत खरिदका लागि दैनिक हुने खरिद वोलकवोलमा महंगो दररेट प्रस्ताव गर्दा समेत विद्युत नपाएको भनि प्राधिकारणले १४ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरेको प्रति उद्योगीहरुले खेद प्रकट गरेका हुन् ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै गत २ वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा वढदो व्याजदरले मरणासन्न पुर्याएको अवस्थामा १४ घण्टा सम्म गरिएको लोडसेडिङले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।

यस अवस्थामा सम्वन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न वाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्था तर्फ गम्भीर हुन सम्वन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गरेको छ ।

‘पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरुबाट उद्योग उद्योग मै पुगेर चाहिएजति विद्युत दिन्छौं भन्दै लगानी बढाउन प्रेरित गरिरहेको तर आज आएर एक्कासी मुल्य वृद्धि भयो, विद्युत आयात गर्न सकिएन भन्नु हाम्रो उर्जाको वास्तविक अवस्थाका वारेमा आमजनतालाई गुमराहमा राखेको ठहर गरेका छौं’ विज्ञप्तीमा भनएिको छ, ‘बेलुकाको ११ः५९ मिनेट जादासम्म विद्युत निर्यात गर्ने अवस्था रहेकोमा १२ वजे देखिपछि एक्कासी युट्रर्न भई विद्युत संकटको अवस्था सिर्जना भएको जनाई विद्यत आपूर्ति वन्द गरिनु जस्तो गैरजिम्मेवारी विषयमा हामीले सरकारको जवाफदेहिता खोजेका छौं ।’

यसअघि गत हप्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै मूल्यमा भएपनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनि आवश्वासन दिएका थिए ।

विश्वव्यापिरुपमा बढिरहेको मुल्यबृद्धि तथा भारतमा नै चरम उर्जा संकटभई अप्रत्यासित मुल्य बृद्धि हुदा नेपालले खरिद गरिरहेको मुल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर नेपाल विद्युत प्राधिकरणले जुनसुकै मुल्यमा पनि खरिद गरि औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता जनाएपनि दुई दिन मै फेरी १२ घण्टा विद्युत कटौति गर्ने कार्यले भनाई र गराईमा फरक गरेकोमा जिम्मेवार पदाधिकारीको विश्वनियतामा प्रश्न चिन्ह खडा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘विद्युतको भाउ वृद्धि भएको जनाई कटौति गर्न नमिल्ने, उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने दायित्वको सरकारको हो, मुल्य कति पर्छ भन्ने विषय सरकारको भएकाले उद्योग व्यवसाय संचालन गर्न आवश्यक विद्युत नियमित आपूर्ति गरिनु पर्दछ भन्ने हाम्रो माग छ ।’

वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगहरुमा निरन्तर विद्युत आपूर्तिको व्यवस्था मिलाउन उद्योगीहरुले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्