११ श्रावण २०८३, सोमबार

१५.६५ प्रतिशत लाभांश पारित गर्न गरिमा क्यापिटलको छैटौं साधारण सभा आह्वान



काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले छैटौं वार्षिक साधारण सभा २०७९ वैशाख ९ गते, शुक्रबार दिउसो २ बजे पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक बर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७–७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८–७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक बर्षको चुक्ता पूँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशत अर्थात १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) तिरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप–संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने र प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।