षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुँदैनः पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली
राजाराम दास
जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।
जानकीमन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले हिमालयदेखि समुद्र पर्यन्त र इन्डोनेसियाको बालीदेखि पर्सिया सम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त भैसकेको दुखद अवस्था प्रति चिन्ता व्यक्त गर्दै सत्ता परिवर्तनको आन्दोलनमा षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने बताएका छन् ।
माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भैसकेको उदाहरण प्रस्तुत गर्दै उनले माता जानकीको आशीर्वादले अभियान सफलहुने दृढ विश्वास व्यक्त गर्दै सबलाई आआफ्नो स्थानबाट लाग्न आह्वान समेत गरेका थियो ।
अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीको पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले राष्ट्र भनेकै व्यक्तिहरू भएकोले बहुसंख्यक व्यक्तिले मान्ने धर्म नै राष्ट्रको धर्म हो । इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा देश हिन्दू राष्ट्र नै रहेको दाबी गर्दै उनले शासन व्यवस्था जुन सुकै भएपनि हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गरे ।
त्यसैगरी समाजसेवी ज्योत्सना साउद ले गार्गी, याज्ञवल्क्य, अष्टावक्र र राजर्षि जनकको भूमिमा बोल्ने अवसर पाएकोमा धन्यवाद दिदै लोक कल्याणकारी राज्यनै रामराज्य भएको चर्चा गरे । अभियानलाई सार्थकता प्राप्त हुने र नेपालले हिन्दू राष्ट्र को गौरव प्राप्त गर्ने दृढ विश्वास पनि उनले व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक मारवाडी सेवा समिति, जनकपुरका अध्यक्ष तथा उद्योगी व्यवसायी निर्मल चौधरीले विस्वासयोग्य पात्र पाएको कारण अभियान सफल हुने बताएका थिए ।















